मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्‍त्रीको स्वास्थ्य सूचनामा गम्भीर खेलबाड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्री केपीशर्मा ओली अस्पतालबाट फर्किएको र निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
 
नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीको स्वास्य सूचना लुकाउन खोजेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले समाचारमा लेखेको छ– 'हेमोडायलाइसिस अपराध होइन, उपचार हो । प्रधानमन्त्रीको स्वास्थ्य लुकाउने-छिपाउने होइन, जनताले थाहा पाउनुपर्ने विषय हो । तर, जननिर्वाचित प्रधानमन्त्रीको स्वास्थ्यलाई उनका चिकित्सक र सल्लाहकार समूहले व्यक्तिगत र खुद्रा विषय बनाएका छन् ।'

यस्तै कान्तिपुर दैनिक प्रधानमन्त्री बालुवाटार फिर्ताः दुईपटक डायलाइसिस शीर्षकमा समाचार लेखेको छ ।
 
यस्तै उसले निर्वतमान सभामुख महराविरुद्ध साढे ७ वर्षको कैदको मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
सरकारी वकिलको कार्यालयले पीडितले १०० मा गरेको फोन, किटानी जाहेरी, सुरक्षाकर्मीको बयान, सीसीटीभी फुटेजका साथै घटनास्थलबाट बरामद सामान प्रमाणका रुपमा पेस गरेको छ । उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई बलात्कार प्रयासकै परिणामका रुपमा चित्रण गरिएको छ ।
 
आजको नागरिक दैनिकले प्रधानमन्त्री डिस्चार्जः दुईपटक हेमोडायलासिस शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै उसले महराविरुद्ध अदालतमा मुद्दा दर्ता भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
महराविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको विषयलाई प्राथमिकता दिएको अन्नपूर्ण पोस्ट्ले भने राष्ट्रसंघ चरम आर्थिक संकटमा परेको विषयलाई मुख्य समाचार बनाएको छ । 

प्रधानमन्त्रीको स्वास्थ्य सूचनामा खेलबाड

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार प्रधानमन्त्रीको रगतमा पानीको मात्रा बढी भयो, शरीर सुन्नियो र ज्वरो आयो । त्यसैले उनलाई बुधबार बिहान ९ बजे ग्रान्डी अस्पतालमा भर्ना गरियो । 

अस्पतालका मेडिकल डाइरेक्टर र प्रधानमन्त्री स्वयंका निजी चिकित्सकले हस्ताक्षर गरेर भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि आउनुभएको हो । उहाँको स्वास्थ्य अवस्थामा सामान्य छ ।’ 

तर, विज्ञप्ति जारी गर्नुअघि नै प्रधानमन्त्रीको रगतबाट पानी फाल्न ‘अल्ट्रा–फिल्ट्रेसन’ गरिसकिएको थियो । बिहीबार पनि उनको हेमोडायलाइसिस गरिएको छ । 

यो सामान्य र नियमित प्रक्रिया होइन । तर, अस्पताल र निजी चिकित्सकले पेसागत आचारसंहिताविपरीत प्रधानमन्त्रीको स्वास्थ्य सूचनालाई खेलबाड बनाइरहेका छन् ।

अस्पतालले करिब १० घन्टापछि मात्रै प्रधानमन्त्रीको स्वास्थ्यबारे विज्ञप्ति निकाल्यो । साँझ ७ बजेपछि जारी गरिएको विज्ञप्तिमा पनि सही सूचना भने दिइएन ।

 सरकार र उनको सचिवालयले त साँझसम्म पनि प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै अस्पताल गएको र सामान्य अवस्थामा रहेको सूचना सम्प्रेषण गरिरहेको थियो ।

प्रधानमन्त्रीको रगतमा पानीको मात्रा अत्यधिक देखिएपछि बुधबार दिउँसै ‘अल्ट्रा–फिल्ट्रेसन’ गरिएको थियो । शरीरमा भएको विकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस अर्थात् डायलाइसिस गरिन्छ । 

यो भनेको शरीरको विकार छान्ने प्रक्रिया नै हो । तर, रगतमा विकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा ‘अल्ट्रा–फिल्ट्रेसन’ प्रक्रिया अपनाइन्छ । 

अस्पतालले साँझ निकालेको विज्ञप्तिमा पनि प्रधानमन्त्रीको यो उपचारबारे लुकाइयो । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र बुधबार राति नै या बिहीबार बिहानसम्म डिस्चार्ज गर्ने विज्ञप्तिमा उल्लेख थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट पनि सोही व्यहोराको सूचना सम्प्रेषण गरियो । तर, बिहीबार प्रधानमन्त्रीको हेमोडायलाइसिससमेत गरियो । साँझ मात्रै डिस्चार्ज भएर प्रधानमन्त्री निवास फर्किए ।

महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबी

कान्तिपुरमा प्रकाशित समाचारअनुसार संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो । 

सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरी प्रतिवेदनमाथि गहन अध्ययनपछि बलात्कार प्रयास (जबर्जस्ती करणीको उद्योग) को आरोपमा मुद्दा दर्ता गरिएको बताए । 

‘किटानी जाहेरीलगायतका प्रहरीले संकलन गरेका प्रमाण र अन्य सबुद विश्लेषणबाट बलात्कार प्रयासको आरोपमा मुद्दा चल्ने निर्णय गरेर अभियोगपत्र पेस गरेका हौं,’ उनले भने, ‘कानुनी प्रावधानअनुसार हिसाब गर्दा अधिकतम साढे ७ वर्षको कैद मागदाबी गरेका छौं ।’

सरकारी वकिलको कार्यालयले महरामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर प्रयास गरेको आरोप लगाएको छ । दफा २१९ मा कसैमाथि पनि जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ । 

कार्यालयले बलात्कार नभए पनि बलात्कार प्रयास गरेकाले दफा ३४ अनुसारको कसुर गरेको आरोप लगाएको छ । दफा ३४ मा संहिताले कसुर हुने भनी ठहर्‍याएका अपराधको प्रयास गरे ‘कसुरको उद्योग गरेको मानिने’ भनिएको छ । त्यो आरोप प्रमाणित भए आधा सजाय हुने व्यवस्था छ ।

संयुक्त राष्ट्रसंघ चरम आर्थिक संकटमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ। राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ।

महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन्। राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो।

सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन्। अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन्। ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए।

विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १.३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ। त्यसमध्ये अमेरिकाले १ अर्ब डलर तिर्नुपर्ने रोयर्टसले जनाएको छ। यसबाहेक अमेरिकाले निर्दिष्ट कार्यक्रम खर्च पनि ठूलै उपलब्ध गराउँदै आएको छ। अमेरिका, जापान, चीन, युरोपेली मुलुकले यस्ता खर्च बढी उपलब्ध गराउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।