एजेन्सी- जलवायु परिवर्तनको असर नियन्त्रणका लागि अभियान चलाइरहेकी स्वीडेनकी किशोरी ग्रेटा थनबर्गले पर्यावरण पुरस्कार लिन अस्वीकार गरेकी छन् ।
जलवायु परिवर्तनका मुद्दामा विश्व आइकन बनेकी थनबर्गले ‘नर्डिक परिषद पर्यावरण पुरस्कार– २०१९’ लिन अस्वीकार गरेकी हुन् । सँगसँगै उनले जलवायु अभियानका लागि सत्तामा रहेका व्यक्तिहरुले पुरस्कार दिनुको सट्टा विज्ञानको अनुशरण शुरु गर्नु राम्रो हुने सुझाव पनि दिएकी छन् ।
१६ वर्षीया थनबर्गको ‘फ्राइडे फर फ्यूचर’ अभियान विश्वका धेरै देशमा विस्तार भइसकेको छ र यसमा लाखौं मानिसहरु सहभागि भएका छन् ।
थनबर्ग त्यसबेला चर्चामा आइन जब अगस्त २०१८ मा उनले प्रत्येक शुक्रबार स्वीडेनको संसद बाहिर जलवायु परिवर्तनको असरतर्फ ध्यानाकर्षण गराउन धर्ना बस्न थालिन् ।
धर्नामा रहँदा उनले ‘जलवायुका लागि स्कूलको हड्ताल’ लेखिएको ‘प्ला कार्ड’ प्रदर्शन गर्थिन् ।
अन्तर संसदीय सहयोगका लागि क्षेत्रीय संस्था नर्डिक परिषदले स्टकहोममा आयोजना गरेको समारोहमा थनबर्गलाई पुरस्कारका लागि छनोट गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पुरस्कार घोषणापछि थनबर्गका एक प्रतिनिधिले दर्शकहरुलाई ५२ हजार डलरको यो पुरस्कार राशी उनले स्वीकार नगर्ने बताएका थिए ।
थनबर्गले इन्स्टाग्राममा पनि आफ्नो निर्णय सार्वजनिक गरेकी छन् ।
उनले लेखेकी छन्, ‘जलवायु अभियानलाई अरु पुरस्कारहरुको आवश्यकता छैन । बरु सत्तामा बसेका व्यक्तिहरुले वर्तमानमा उपलब्ध सर्वश्रेष्ठ विज्ञानको अनुसरण शुरु गर्नु आवश्यक छ ।’
उनले पुरस्कार दिने निर्णय गरेको नार्डिक परिषदप्रति आभार व्यक्त गर्दै जलवायुसँग जोडिएका मुद्दामा आफ्ना प्रतिवद्धतामा कायम नरहेको भन्दै नर्डिक देशहरुको आलोचना पनि गरेकी छन् ।
यि किशोरी यसवर्षको नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनको सूचीमा परेकी थिइन्, यद्यपि उनले उक्त पुरस्कार पाइनन् । सन् २०१९ को नाबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई दिइएको थियो ।
सेप्टेम्बर २० मा विश्वको १६१ देशको करिब ४० लाख मानिसले जलवायु परिवर्तनको विरोधमा आन्दोलन गरेका थिए र त्यो अहिले सम्मकै ठूलो वातावरण सम्बन्धी प्रदर्शन थियो । त्यसको सुरुवात ग्रेटाको 'फ्राइडे फर फ्युचर' अभियानबाट भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४