काठमाडौं- काठमाडौंको महाराजगंजबाट पक्राउ परेका २५ जना जुवाडेमध्ये ६ जनाले गैरकानुनी रुपमा थुनेको भन्दै सर्वोच्च अदालत गुहारेका छन्।
पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
तिहारको विदाका समयमा बन्दी प्रत्यक्षीकरणलगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको छ।
प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।
ढकालका अनुसार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन्।
रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन्। यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन्। गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
ढकालका अनुसार अहिलेसम्म उनीहरुलाई अदालतमा उपस्थित गराइएको छैन। म्याद बुझेको समय ४ बजे भएकाले ४ सोमबार ४ बजेसम्म ल्याउन पाउने समय रहेको भन्दै ढकालले रिटको समय ३ बजेसम्म मात्र रहेको बताए।
३ बजे भित्र उपस्थित नगराए बुधबार मात्र अदालत खुल्छ। प्रहरीले आइतबार बिहान २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूकसहित २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४