काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलुकासम्म कुनै ठूलो घोषणा गर्ने संकेत गरेका छन् ।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पबाट कुनै घोषणा हुने जानकारी दिए पनि त्यो कस्तो घोषणा हुनेछ भन्ने बारे केही बताएको छैन ।
अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकी सेनाले इस्लामिक स्टेट समूहविरुद्ध कारवाही गरेको र त्यसमा अबु बक्र अल–बगदादी मारिएको हुनसक्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर ‘अहिले केही ठूलो भएको छ’ भनेका छन् ।
न्यूजवीक म्याग्जिनले अमेरिकी सेनाको सूत्रलाई उद्धृत गर्दै सिरियाको इदलिबमा अमेरिकी सेनाले गरेको कारवाहीमा आईएस नेता बगदादी मारिएको जनाएको छ । यद्यपि, यो खबरको आधिकारिक पुष्टि भने भएको छैन ।
सीएनएनका अनुसार पनि अमेरिकी सेनाले बगदादीविरुद्ध अमेरिकी सेनाले सफल कारवाही गरेको छ । उसले सीआईएले बगदादी भएको स्थान पत्ता लगाएको पनि उल्लेख गरेको छ ।
ट्रम्पले अमेरिकी समय अनुसार आइतबार विहान नौ बजे यसको घोषणा गर्नेछन् ।
ह्वाइट हाउसका प्रेस सचिव होगन गाइडलीले सीएनएनसँगको कुरामा ट्रम्पको घोषणा विदेश नीति सम्बन्धमा हुने बताएका छन् ।
बग्दादी विभिन्न देशहरुमा आतंक फैलाइरहेको समूह इस्लामिक स्टेटकका प्रमुख हुन् । विशेषगरी यो समूह सिरिया र इराकमा सक्रिय छ ।