एजेन्सी- सरयू नदी किनारमा निर्मित रामकी पौडीमा चारैतिर दियो नै दियो देखिन्छन्।
घाँटीमा भोलेन्टियरको कार्ड झुण्ड्याएका सयौं युवा दियोलाई लामवद्ध सजाइरहेका छन्। कतै दियोलाई फूलको डिजाइन दिइएको छ भने कतै स्टिल फ्रेममा टाँसेर नयाँ स्वरुप दिइएको छ। यो हो–हल्लाबाट बेखबर केही स्थानीय पेन्टर, घाटका सिढीमा कार्डबोर्डबाट बनाइएका हात्ती, घोडा र उँटमा रंग भरिरहेका देखिन्छन्।
रामद्वार नजिकको सडक र मंदिर सजाइँदैछ।
दुई वर्ष अघिदेखि अयोध्यामा दीपोत्सव आयोजना गर्न थालिएको हो। यसवर्ष आजै साढे पाँच लाख दियो एकैपटक बालेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने कार्यक्रम छ।
अघिल्लो वर्ष दीपोत्सवमा दक्षिण कोरियाकी किम जाग सुक प्रमुख अतिथि थिइन् भने यसपटक फिजीकी मन्त्री वीणा भटनागर आउँदैछिन्।
नेपाली कलाकार पनि उत्सवमा विरह गायनका लागि जनकपुरबाट कलाकारको टोली सहभागी हुने नवभारत टाइम्सले उल्लेख गरेको छ। जनकपुर सीताको माइती भएको र विवाहपछि विदाईका बेलाको गीत गाउनका लागि जनकपुरका कलाकारको टोली निपूर्ण रहेको उसले उल्लेख गरेको छ।
राति आठ बजेदेखि १० बजेसम्म नेपाल, भारत, श्रीलंका, इन्डोनेशिया र फिलिपिन्सका कलाकारहरुले आ–आफ्नो परम्परा अनुसार रामलिला मञ्चन गर्ने पनि जनाइएको छ।
उत्तर प्रदेश सरकारले रामायणमा उल्लेख भए अनुसारका कैयौं झाँकी जुलुश निकाल्ने व्यवस्था मिलाएको छ। हेलिकप्टरबाट राम र सीताको प्रतिरुप अवतरण गराएर भरत मिलाप गराउने कार्यक्रम पनि तय भएको छ । त्यसपछि आरती र दीपोत्सव आयोजना गरिनेछ।
यद्यपि, रामकी पौडीभन्दा पाँच-सात सय मिटर परको अयोध्या शहरमा खास परिवर्तन देखिंदैन।
नजिकै रहेका पुराना मन्दिर र कुनै बेला सुन्दर देखिने भवनहरुमा घास र रुख उम्रिएका छन्।
स्थानीय पत्रकार स्कन्दात भन्छन्, ‘यो सबै संतहरुको खेल हो, उनीहरुको भण्डारा चलिरहोस, मठमा रकम आइरहोस । उनीहरुलाई अयोध्यासँग केही मतलब छैन।’
स्थानीय वासिन्दाका अनुसार दीपोत्सव स्थलमा मन्त्री, सरकारी अधिकारी र पत्रकारहरु पुगेको धेरै बेरपछिमात्रै स्थानीय वासिन्दा त्यहाँ जान पाउँछन्।
स्थानीय इला शुक्लाका अनुसार योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि यहाँ ठूलो परिवर्तन आएको छ। तर, अंजु रघुवंशी भन्छिन्, ‘रामकी पौडीको विकास त भएको छ तर स्थानीय मानिसहरुको जीवनमा कुनै विकास आएको छैन।’