शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • मिल्यो मन्त्रालयको भागबन्डा, मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका झलनाथ भन्छन्- एमाले फुटेको होइन [२०७८-५-१४]

मिल्यो मन्त्रालयको भागबन्डा, मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका झलनाथ भन्छन्- एमाले फुटेको होइन [२०७८-५-१४]

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। माओवादीले ६ मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको एक नेताले जानकारी दिए। 

triton college

ती नेताका अनुसार कसले कुन मन्त्रालय पाउने भन्नेमा पनि सहमति जुटेको छ। मन्त्रालयको बाँडफाँडमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न केन्द्रित बनेका छन्।  यसअघि कांग्रेसले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेको छ। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बनेका छन् भने उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन्। माओवादी केन्द्रले जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जामन्त्री बनाइसकेको छ। अब कांग्रेसले ५ मन्त्री बनाउन पाउनेछ भने माओवादीले चार मन्त्री बनाउन पाउनेछ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मन्त्रालयको भागबण्डामा समेत करिब सहमति जुटाएका छन्। एक नेताका अनुसार देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्ण प्रसाद सिटौलालाई एक–एक मन्त्री दिने तयारी गरेका छन्। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाडमा सहमति भएसँगै मंगलबार वा बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

000

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन्। 

corrent noodles
Metro Mart

भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहंकारी ब्यक्तिहरुको कब्जामा एमाले पुगेपछि बिद्रोह गर्नु परेको बताएका हुन्। कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको उनको भनाइ छ। एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेकाले नै समस्या उत्पन्न भएको उनले बताए। ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए। 

पूर्वप्रधानमन्त्री खनालले आफ्नो जीवन बोनसको भएको भन्दै अब कुनै कार्यकारी पदमा दाबी नगर्ने समेत बताएका छन्। उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको र आफू जोशिलो भएर फर्किएको जानकारी दिए। खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताकार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

000

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ। 

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय सीमा दिएसँगै एमालेले दल परिवर्तन नगर्न अपिल गरेको हो।  हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन आह्वान गरिएको हो। अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको छ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेकेर एमालेलाई विभाजित गर्दै वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको छ। नेकपा एकिकृत समाजवादी आधिकारिक रुपमा ९ भदौमा दर्ता भएसँगै निर्वाचन आयोगले हिजो (आइतबार) विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ। भदौ २२ सम्म एमाले र जसपा त्याग्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई कुनै कारवाही हुँदैन। 

एमालेकै अर्को प्रसंगमा महासचिव ईश्वर पाखरेलले वर्तमान सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन्। 

सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धन भित्रकै विवादले सरकार लामो समय नचल्ने दाबी गरेका हुन्। उनले अहिलेको सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा समेत दिएका छन्।  आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढने उनको दाबी छ।

महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गरे। उनले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए। सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको प्रतिक्रिया दिए। तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढने उनको भनाई छ। 

नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ। महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पारे। 

000

अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। रोल...

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित भएका छन्। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

विस्थापित परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा राखिएको छ। शनिबारदेखि झरेको पहिरोले यसअघि १२ घरमा क्षति पुर्‍याएको थियो। पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ। ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ। 

000

सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिन थालेको छ। २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन्। 

स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन। सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ। स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन्। फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए। 

सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए। उनले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले ५० देखि १०० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी दिए।

काठमाडौं महानगरपालिकाले भने बञ्चरे डाँडा पूर्णरुपमा तयार नभएसम्म अब काठमाडौंको फोहोर उठाउन नसकिने बताउन थालेको छ। महानगरका वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताए। 

सिसडोल क्षेत्र भरिएपनि बञ्चरे डाडा अझै नबन्दा फोहोरको समस्या पेचिलो बन्दै गएको  छ। यस्तै तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ। युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो।

000

कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ। रोल....

इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो। कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताए। उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित चित्रकला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए। 

प्रदर्शनीमा व्यावसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताए। प्रदर्शनीमा ६० भन्दा धेरै व्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताए। 

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उनले बताए। आज (सोमवार)बाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते चल्नेछ।  

000

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज (सोमबार) देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइएको  छ। भगवान श्रीकृष्णको जन्म भएको दिन ज्ञान, भक्ति र कर्मका प्रणेताको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। आजकै दिन ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना गरेर कृष्ण जन्माष्टमी पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसका कारण मन्दिर खोलिएन्। मन्दिर परिसरमा भने भक्तजनहरुको भीड लागेको थियो भने मुख्य मन्दिरको वरपर रहेका मूर्तिमा मानिसहरु पूजा गरेर फर्किरहेको देख्न सकिन्छ। 

द्वापर युगमा पिता वासुदेव र माता देवकीका आठौँ पुत्रको रुपमा मामा कंशको जेलमा भगवान श्रीकृष्णले मध्यरातमा जन्म लिएका थिए। उनी जन्मिएपछि जेलका ढोकाहरु खुल्ला भएको र सुरक्षामा रहेका सुरक्षाकर्मीहरु निन्द्रामा परेको धर्मशास्त्रमा उल्लेख छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आजको दिन कंशको अत्याचारबाट मानवलाई भगवान श्रीकृष्णले मुक्त दिलाएको दिनको रुपमा पनि श्रीकृष्णको पूजाअर्चना गरी जन्मोत्सव मनाउने गर्दछन्।

अब अन्तर्राष्ट्रिय समाचार 

अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने बताएको छ। तालिबानविरुद्ध दुई दशक लडेर फर्किएको अमेरिकाले इस्लामिक स्टेट (आइएस)विरुद्ध कारबाही गर्न भन्दै पुनः केही समय अफगानिस्तानमा बस्ने बताएको हो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनका अनुसार काबुल विमानस्थलमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने निधो गरेको हो। 

अमेरिकी समाचार संस्था सिबिएस न्युजसँगको कुराकानीमा उनले राष्ट्रपति जो बाइडेन अफगानिस्तानमा आक्रमण गर्ने मनस्थितिमा नरहे पनि विमानस्थलमा आक्रमण गर्ने इस्लामिक स्टेट खुरासानविरुद्ध कारबाहीका लागि सैन्य कमाण्डरहरु तयार रहेको बताएका छन्। गत बिहीबार काबुल विमानस्थलमा भएका ठूला दुई आत्मघाती विस्फोटमा १७० जनाभन्दा धेरैको मृत्यु भएको थियो। घटनामा १३ अमेरिकी सैन्य अधिकारीको मृत्यु भएको थियो। 

प्रकाशित: Aug 30, 2021| 20:11 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।