बुधबार, माघ ८, २०७६

समाचार प्रविधि

दुई ग्रह तोडेर पृथ्वीका लागि इनर्जी !

दुई ग्रह तोडेर पृथ्वीका लागि इनर्जी !

अबको पाँच सय वर्षपछि हामीले देख्ने आकाश अहिलेको जस्तै हुनेछ । तर, यहाँ भएका खगोलीय पिण्डहरूको संरचना र संख्यामा परिवर्तन आइसकेको हुनेछ।

आज तपाईंलाई पत्याउन गाह्रो होला, तर यस्तो हुनेछ । आकाशमा भएका दुईवटा खगोलीय पिण्ड आउँदो पाँच सय वर्षभित्र मानव जातिको आहारा बन्नेछन्।

विषयमा प्रवेश गर्नुभन्दा पहिला मानव जातिको आवश्यकता–इच्छा र त्यसको पूर्तिबारे विश्लेषण गरौं ।

अहिले सम्पूर्ण पृथ्वीमा झण्डै तीन हजार अर्ब रुख बाँकी छन् । वैज्ञानिकहरूले उन्नत प्रविधिको प्रयोग गरेर निष्कर्ष निकालेका छन्, दस हजार वर्षपूर्व पृथ्वीमा झण्डै ६ हजार अर्ब रुख थिए।

त्यसै बेलातिर हो, हाम्रा पुर्खाले घर बनाएर स्थायी बसोबास गर्ने कला सिकेको।

यसअघि मानव जाति फगत घुमन्ते थियो, ओडार र गुफामा बस्थ्यो ।

अब तपाइँ सहज अनुमान गर्न सक्नुहुन्छ– हाम्रा पुर्खालाई घर बनाएर बस्नका लागि त्यसबेला रुख नै सबैभन्दा पहिलो ‘बिल्डिङ ब्लक’ बनेको थियो।

दस हजार वर्षमा मानव जातिले आफ्नो आवश्यकता, सुख–शयलका लागि तीन हजार अर्ब रुख सखाप पार्‍यो ।

अमेरिकाको येल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार अहिले पनि विश्वभर बर्सेनि १० अर्ब रुख ढालिन्छ ।

नेपालमै पनि ‘रुख त रेनेवल इनर्जी हो’ भन्ने कुतर्क गर्ने थुप्रै ‘बुद्धिजीवी’ भेटिन्छन्। ‘रेनेवल इनर्जी’ त हो रुख तर, त्यसको दोहन र वृक्षरोपणको अनुपात हेर्नुपर्‍यो नि!

तपाईं बारामा एयरपोर्ट बनाउन २० लाख रुख ढाल्ने योजना बनाउनुहुन्छ, विचार गर्नुस् त– २० लाख रुख हुर्काउन तपाईंले कति वृक्षारोपण गर्नुपर्छ र कति समय पर्खिनुपर्छ एउटा रुख हुर्काउनलाई?

के मित्रहरूलाई प्रधानमन्त्री तथा मन्त्रीहरूका बैठक कोठाका गमलामा शोभायमान भएको जीनिस नै रुख लाग्छ?

आजको रुख कटान एवम् वृक्षरोपणको जुन अनुपात छ, त्यसले आउँदो ३५०–४०० वर्षभित्र पृथ्वी रुखरहित हुनेछ भन्नुमा अत्यूक्ति हुन्न।

अहिलेको झण्डै ७.७ अर्ब विश्व जनसंख्याको आवश्यकता परिपूर्ति गर्न विज्ञान एवम् प्रविधिले निरन्तर फड्को मार्दै गइरहेको छ।

मानव जातिको जीवन–उन्नतिका लागि विज्ञान अपरिहार्य छ। तर, के तपाईंलाई थाहा छ– विज्ञानलाई नयाँ खोज, अनुसन्धान एवम् उपलब्धि हासिल गर्न अथाह ‘इनर्जी’ आवश्यक पर्छ। कतिपयका लागि भविष्यको चिन्तन भनेको अहिलेको भन्दा थप सुख–शयलबाहेक केही हुन्न। उनीहरुलाई के थाहा; दिनभरी फेसबुकमा नानाथरीका पोस्ट एवम् फोटो हाल्दा पनि ‘इनर्जी’ खपत हुन्छ । फेसबुकले तपाईंका सामग्रीलाई सुरक्षित राख्न पनि ‘इनर्जी’ (विद्युत् ऊर्जा) व्यय गरिराख्नु पर्छ ।

याद गर्नुस्, इन्टरनेटको कुनै पनि साइटमा हालिएका सामग्री सुरक्षित राख्न पनि २४ सै घण्टा विद्युत् खर्च हुन्छ।

आम मानिस भोजन, पानी, घरजग्गा, लुगाफाटो र हद्दै भए पर्यावरणसम्मको चियागफ गर्छन्। तर, विज्ञानसामु यी विषय खासै चुनौतीपूर्ण होइनन्। पर्याप्त ‘इनर्जी’ भए यी सबै समस्या त्वरित वेगले समाधान हुन्छन्।

पृथ्वीमा ‘इनर्जी’ (विद्युत्) उत्पादनको स्रोत सीमित छ र त्यो तीव्र गतिले ह्रासोन्मुख छ।

‘ग्लोबल वार्मिङ’का कारण हिमाल नाङ्गिँदै गइरहेका छन्। अहिले पनि विश्वमा अत्यधिक विद्युत् ‘फसिल फ्यूल’ (कोइला, ग्यास र तेल)बाट उत्पादन भइरहेको छ। संसारभरिकै विद्युत् उत्पादनमा ‘फसिल फ्यूल’को योगदान झण्डै दुई तिहाई (कोइला–३९.३ प्रतिशत, ग्यास–२२.९ प्रतिशत, तेल–४.१ प्रतिशत = ६६.३ प्रतिशत) छ। बाँकी विद्युत् उत्पादन हावा, सौर्य र जियोथर्मल प्रविधिबाट भइरहेको छ।

तर, विस्तारै रित्तिँदै जाने फसिल फ्यूलको भण्डारले आसन्न संकटको संकेत गरिरहेको छ।

संसारभरि कुल विद्युत् उत्पादन झण्डै २६ हजार टेरावाट प्रतिघण्टामध्ये हाइड्रो (जलविद्युत्) को योगदान १६ प्रतिशत र न्युक्लियर प्लाण्टको १०.६ प्रतिशत छ।

अहिलेको प्राविधिक युगमा विद्युत् नभएको परिस्थितिमा पनि यदि कसैले जीवनको कल्पना गर्छ भने त्यो कति व्यवहारिक होला ? पर्याप्त विद्युत् उपलब्ध भए संसारमा कुनै पनि समस्या रहँदैनन्, न पानीको, न भूमिको न त पर्यावरणकै।

पर्याप्त ‘इनर्जी’ उपलब्ध भएको खण्डमा विज्ञानले ल्याबमै पानी बनाउन सक्छ। पानीमै खेती गर्न सक्छ। समुद्रमुनि सहर बसाउन सक्छ। आकाशमै होटल बनाउन तथा बस्ती बसाउन सक्छ। पर्यावरणका हानिकारक ग्रिन ग्यासलाई रूपान्तरित गर्न सक्छ। यहाँसम्म की मंगल ग्रहमै ‘टेराफार्मिङ’ गर्न सक्छ।

मानिससँग अविरल एवम् अखण्ड ‘इनर्जी’को एउटा मात्र स्रोत छ, त्यो हो– सूर्य। अहिलेसम्म सूर्यको ९९ प्रतिशत ‘इनर्जी’ उपयोग हुन सकेको छैन।

भविष्यमा वैज्ञानिकले सूर्यको धेरैभन्दा धेरै ‘इनर्जी’ उपयोग गर्नलाई बुध एवम् शुक्र ग्रहलाई तोडेर सूर्यको चारैतिर ‘डायसन स्वार्म’ निर्माण गर्नेछन्।

सूर्यको चारैतिर अर्बाको संख्यामा बनाइएका ‘डायसन स्वार्म’ले सूर्यबाट संग्रह गरेको ‘इनर्जी’ मानिसका सबै आवश्यकता पूरा गर्न पर्याप्त हुनेछ।
स्मरण रहोस्, सूर्यमा प्रतिसेकेण्ड ३.८६×१०(२६) वाट ‘इनर्जी’ उत्पादन हुन्छ। सम्पूर्ण पृथ्वीमा प्रतिसेकेण्ड १.७×१०(१७) वाट सूर्य इनर्जी प्राप्त हुन्छ, जसको अहिलेसम्म हामीले उपयोग गर्न सकेका छैनौं।

वैज्ञानिकहरूको दृष्टि सूर्यको खेर गइरहेको इनर्जीतिर छ, योबाहेक मानिसको बढ्दो इनर्जीको मागलाई पूरा गर्नसक्ने अर्का कुनै दिगो विकल्प छैन।

अहिले म भारतीय लेखक विजयराज शर्माद्वारा लिखित पुस्तक ‘द इम्मोर्टलस् अफ अर्थ’ पढ्दै छु।

पुस्तकमा कसरी भविष्यमा वैज्ञानिकले बुध एवम् शुक्र ग्रहलाई तोडेर ‘डायसन स्वार्म’ निर्माण गर्नेछन् भन्ने बृहत् चर्चा गरिएको छ।

विज्ञान लेखन अथवा विज्ञान गल्प कल्पनाशीलताको पराकाष्ठा हो। विजयले आफ्नो पुस्तकमा कल्पनाशीलताको त्यो उडान भर्नुका साथै कल्पनालाई वास्तविकतामा रूपान्तरित गर्ने दृष्टि पनि इंगित गरेका छन्।

निःसन्देह भोलि मानिसका लागि पृथ्वी र यसका संशाधन अपुग हुनेछन्, यस अवस्थामा मानिसको अर्का ‘कर्मभूमि’ मंगल ग्रह हुनेछ।

अहिले मंगल ग्रहको वातावरण मानव जीवनअनुकूल छैन।

तर, याद गर्नुस्– पृथ्वी निर्माण हुँदाताका पनि यहाँ अक्सिजन थिएन। अक्सिजनको निर्माण (पृथ्वीमा) धेरै कालपछि साइनो ब्याक्टेरियाको उदय भएपछि भएको हो।

अक्सिजन थिएन, अर्थात् मानिस र प्राणीमात्र होइन, रुख–बिरुवा आदि पनि केही थिएनन्।

साइनो ब्याक्टेरियाले पृथ्वीको वातावरणमा प्रचुर मात्रामा अक्सिजन भरिदिएपछि मात्रै यहाँ सुक्ष्मजीवीभन्दा माथिको जीवन प्रारम्भ भयो।

‘द इम्मोर्टल्स अफ अर्थ’ लाई शर्माको लेखन–शैली, विषयवस्तुबारेको पर्याप्त जानकारी, कल्पनाशीलता एवम् विशुद्ध वैज्ञानिक ‘एटिट्युड’ले पठनीय बनाएको छ।

पुस्तक पढ्दै गर्दा अनायास नै विज्ञान लेखक कार्ल सगन, स्टिफन हकिन्स, प्रोफेसर नर्लिकर, प्रित्जाक काप्रा, सीवी रमनको सम्झना आउँछ।

पुस्तकमा एलियन, अनन्त बह्माण्ड, जीवनका प्राथमिक जैविक चिह्न, अमरत्व, आर्टिफिसियल इन्टेलिजेन्स, भविष्यका अन्तरिक्ष यान, मानवबाट महामानव बनेको ‘होमोसेपियन्स’को महायात्रा र सभ्यताको अन्त एवम् प्रलयपश्चातको अवशेषबारे रोचक चर्चा गरिएको छ।

मूलरूपमा अंग्रेजीमा लेखिएको यो पुस्तकको हिन्दी अनुवाद पनि लेखक स्वयंले गरेका छन्।

पुस्तकको मूल्य केही महँगो (भारू ९९९) भए पनि पढेपछि महँगो लाग्दैन।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप