शुक्रबार, वैशाख ७, २०८१

द्वन्द्वकालमा कुकुरबाट गराइयो युवतीको बलात्कार !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कान्तिपुर दैनिकले द्वन्द्वकालमा सेनाले कुकुरबाट बलात्कार गराएको भनि एक युवतीले दिएको बयानलाई मुख्य समचार बनाएको छ । मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवाहरु माझ ति युवतीले द्वन्द्वकालमा आफूमाथि सेनाले दिएको बर्बर यातनाबारे बताएकी हुन् । 

यस्तै कान्तिपुरले बैतडीमा मान्छेमाथि एक्स्काभेटर चलाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । डोजरको बकेटले हान्दा एक महिला बेहोस भएकी छिन् भने ७ जना घाइते भएका छन् । घटनामा संलग्न चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्नपूर्ण पोस्ट्ले कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

यस्तै बैतडीमा मान्छेमाथि डोजर चलाएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेको विषयलाई अन्नपूर्णले महत्वका साथ छापेको  छ। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही प्रचण्ड निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्।
 
नागरिक दैनिकले रौतहटमा भएको बमकाण्ड प्रकरणमा तत्कालिन सिडिओ र प्रहरी प्रमुख र सरकारी वकिलका कार्यलय प्रमुखमाथि छानविन थालिएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै उसले उपशीर्षक दिएर गौर नरसंहारको विषय पनि उठाएको छ ।
 
ललितपुरमा जनप्रतिनिधि नै ठेकेदार बनेर मनपरि दोहन गर्दा बस्ती नै जोखिममा परेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले डोजर इन्जिनियरको आतंक शीर्षकमा मुख्य समाचार छापेको छ । सामाचारमा जनाइएअनुसार स्थानीय सरकारको दुईतिहाइ बजेट धुलेसडकमा सकिने गरेको छ भने केन्द्रबाट जाने ३ खर्बमध्ये २ खर्ब डोजरमै सकिने गरेको छ ।

द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’

कान्तिपुरमा प्रकाशित समाचारअनुसार ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ 

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्– सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती । 

गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरूका आँखा रसाउँदै गए ।

उनी भनिरहेकी थिइन्, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु, न धर्तीमा हिँड्न । मजस्तै अरू पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरू खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहरूले जानून् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालीन विद्रोही माओवादीमा लागेकी थिइन् । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बाबुलाई पक्राउ गरेको थियो । 

रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँ हिँडिन् । त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘अरू साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरूले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो ।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरू बहिनीहरू मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुइटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा बहुलाइजस्तो हुन्छु । डरले काँप्छु,’ उनले भनिन् ।

उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन् । ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन,’ उनले भनिन्, ‘कुकुरबाट इज्जत लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए । पछि धुनै नदिई त्यही हातले भात खान लगाए ।’

ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको कपडाको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो लासझैं भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’

त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्यातिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान्–श्रीमतीले जति दु:ख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्‍यौं । मेरो छोराको आँखामा जन्मिँदै मासुको डल्लो पलाएको छ । यो पीडा म मनमा कति मात्रै राखिरहुँ ?’

मुद्दा फिर्ता लिन ‘प्रलोभन’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ। 

‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसीबाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर।’

आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन्। मैले यो कुरा प्रहरीलाई भनेको छु।’

उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असइको कमान्डमा टोली खटाएको छ। प्रहरीले चौबीसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ। ‘मेरो एक मात्र अनुरोध छ, यस्तो जघन्य अपराध गर्नेलाई छोड्नु हुँदैन’, उनले भने, ‘कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

यमुनामाई–४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते)लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ। प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।