काठमाडौं - रकम लिँदै श्रम स्वीकृति प्रदान गर्न रोक लगाइएका मुलुकमा घरेलु कामदारका रुपमा मानिस पठाएको अभियोगमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत कमल प्रसाद पराजुलीसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
विभिन्न बिचौलियाहरुसँग मिलेर कामदारको रुपमा २ सय ४८ जना महिला तथा पुरुषलाई अरवलगायतका विभिन्न मुलुकहरुमा जान स्वीकृती दिएको भन्दै अख्तियारले पराजुलीसहित १३ जनाविरुद्ध २४ लाख रकम लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। अध्यागमन अधिकृत पराजुलीसमेत अन्य अध्यागमन अधिकृतहरु र विचौलियाको सेटिङ्गमा प्रतिव्यक्ति १० हजार लिएर नेपालीहरुलाई प्रतिवन्धित देशमा पठाएको खुलेको अख्तियारले जनाएको छ।
अन्य आरोपितहरुमा मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपाने छन्। साथै उनीहरुले मिलेमतोमा गलत लिखत श्रृजना हुने गरी अध्यागमन प्रस्थान अनुमति दिएर प्रस्थान अनुमति दिने अधिकारीको पहिचान समेत लोप हुने गरी अध्यागमन कार्यालयको अभिलेख नरहने गरी प्रमाणसमेत लोप गरेको अख्तियारले जनाएको छ।
उनीहरुले गैरकानूनी लाभ लिएको विगो २४ लाख ८० हजार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम सजाय गरी गैरकानूनी लाभ लिएको रकम अशुलउपर गर्न अख्तियारले माग गरेको छ। साथै गलत लिखत श्रृजना हुनेगरी आफूहरूले प्रस्थान अनुमति प्रदान गरेको अभिलेखसमेत नराखी सार्वजनिक निकायमा रहने प्रमाण समेत नष्ट गरेकाले ऐनको दफा ९ र दफा १२ बमोजिम समेत सजाय मागदाबी गरिएको छ। साथै अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेकोसमेत अख्तियारले जनाएको छ।
पूर्व जिशिअ पोखरेलविरुद्ध मुद्दा
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बारागढी गाउँपालिका - ३ नयकाटोल, साविक खोपवा गाविस–८ को जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा निर्माण सम्पन्न नभएकै भवनलाई निर्माण सम्पन्न गरेको नक्कली कागजात तयार गरी १ लाख ३९ हजार रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जानकारी दिएको छ।
अन्य आरोपितहरुमा जिल्ला शिक्षाका लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सव–इन्जिनियर दिलिपकुमार जैसवाल छन्।
उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम भ्रष्टाचारको कसुर गरेको प्रमाणित हुन आएको भन्दै अख्तियारले सरकारको हानिनोक्सानी पुर्याएको रकम अशुलउपर गर्न माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४