शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आलमले नरसंहार  मच्चाउदाका गृहमन्त्री, गृहसचिव र आइजीपी के भन्छन् ?

आलमले नरसंहार  मच्चाउदाका गृहमन्त्री, गृहसचिव र आइजीपी के भन्छन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ ।

कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो । 

माथिल्लो तहकै संरक्षणमा घटनालाई लामोसयम ढाकछोप गर्न खोजिएको स्थानीयको दाबी छ । आलमले नरसंहार मच्चाउदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र आईजीपी ओमविक्रम राणा थिए । 

कान्तिपुरले तत्कालिन गृहमन्त्री सिटौला, तत्कालिन गृहसचिव मैनाली र तत्कालिन आईजीपी राणाको प्रतिक्रिया लिएको छ । तिनै जनाले घटनाका विषयमा जिम्मेवार जवाफ दिएका छैनन् ।

‘१२ वर्षपछि पक्राउले अचम्मित छु’
-कृष्णप्रसाद सिटौला, तत्कालीन गृहमन्त्री


कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई घटनामा जोडेर १२ वर्षपछि पक्राउ गरिएको विषयले अचम्मित छु । म गृहमन्त्री छँदा अहिले आएको घटनाबारे सम्झना पनि छैन ।

प्रहरीले घटनाको जानकारी गराउने हो । तर अहिले मिडियामा आए जस्तो घटनाबारे मलाई जानकारी गराइएको सम्झना छैन । अपराधमा गृहमन्त्रीले नभएर प्रहरीले अनुसन्धान गर्ने हो । संविधानसभा निर्वाचनपछि ९ वटा सरकार बनिसक्दा यो विषय चर्चामा नआउनु र अहिले एकाएक आउनुले आश्चर्यमा परेको छु ।

संविधानसभा निर्वाचनपछि नै पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभयो । त्यसपछि माधव नेपाल हुनुभयो । माधवजी रौतहटकै हुनुहुन्छ । उहाँ प्रधानमन्त्री छँदासमेत यो विषय किन उठेन ? बाँकेमा कांग्रेसका जिल्ला सभापतिमाथि भएको आक्रमण, तनहुँमा कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालमाथिको आक्रमण प्रयास र अहिले रौतहटमा भएको घटनाले आशंका उब्जाएको छ ।

अदालतको निर्णय नआएसम्म आलमलाई पार्टीले दोषी करार गर्न सक्तैन । कांग्रेसका दिवंगत नेता सेख इद्रिस तराई र मुस्लिम समुदायमा लोकप्रिय हुनुहुन्थ्यो । अहिले त्यो परिवारमाथि जुन किसिमको आरोप लगाइएको छ, यसले मलाई गम्भीर बनाएको छ । अदालतले निर्णय नगरेसम्म आलम निर्दोष छन् ।

‘प्रहरी र सरकारी वकिल जानून्’
-उमेश मैनाली, तत्कालीन गृह सचिव


अनुसन्धानमा गृह सचिवले निर्देशन दिएको हुँदैन । समग्र शान्तिसुरक्षा व्यवस्था हेर्ने हो । कहीँकतैबाट जानकारी आयो भनेचाहिँ भनिन्छ । नत्र अपराध अनुसन्धान गर्ने काम विशुद्ध प्रहरीको हो ।

हामीलाई त्यो बेला (हत्या प्रकरण) मा राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइएको थियो ।

आयोगमा म आफैं गएको थिएँ । आयोगको अनुसन्धानमा मन्त्रालयका तर्फबाट सहयोगमा कुनै कमी हुँदैन भनेको थिएँ । आयोगले पनि टोली नै खटाएर प्रतिवेदन तयार पारेको हो । यसमा प्रहरी, महान्यायाधिवक्ता र सरकारी वकिल पूर्ण रूपमा जिम्मेवार छन् । जवाफदेही पनि उनीहरू नै हुनुपर्छ ।

भोलि यो केस स्थापित भयो भने त कसले अनुसन्धान गरेन भनेर खोजी हुन्छ नि । मानव अधिकार आयोगले घटनाको छानबिनमा केही पनि भेटिएन भन्यो । आयोगले अनौपचारिक रूपमा त्यसबेला मलाई यही विषय जानकारी गराएको थियो । मैले थाहा पाएको र घटनाबारे म संलग्न भएका विषय यिनै हुन् ।

पछि महान्यायाधिवक्ता, संवैधानिक निकाय, प्रहरी के–केबाट परामर्श भएर खारेज भएको हो, मलाई थाहा छैन । प्रमाण नपुगेका आधारमा डिसमिस गरिएको केसका पीडित अदालत गए । अदालतले पुन: सुरुबाटै छानबिन गर्नु भनेर आदेश दियो, त्यसबेला म गृह सचिवबाट अवकाश पाइसकेको थिएँ ।

बहाल रहँदा यो केसमा मैले कसैलाई छाड्न, यसरी अनुसन्धान गर्न भनेर भनिनँ भन्ने कुरा पनि थिएन । अहिले आएर त्यो केस बल्झियो, यो विषय अदालतको आदेश आएपछि उतिबेलै गम्भीर रूपमा अनुसन्धान हुनुपथ्र्यो । जे अनुसन्धान गर्नु छ, चाँडै गरिदिएको भए हुन्थ्यो ।

घटनाका बारेमा ब्रिफिङ नै भएन 
तत्कालीन आईजीपी ओमविक्रम राणा


घटनाका बेला प्रहरी महानिरीक्षक (आईजीपी) रहेका ओमविक्रम राणाले आफूलाई यसबारे तलबाट कुनै ब्रिफिङ नभएको जिकिर गरे ।

‘हामी चुनावी सुरक्षामा केन्द्रित थियौं, यो विषयमा मलाई इलाका, जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालय कतैबाट पनि ब्रिफिङ भएको जस्तो लाग्दैन,’ उनले भने, ‘पछिल्लोपटक मिडियामा आएका समाचार सत्य र सही हुन् भने त्यसबेला क–कसले अनुसन्धानमा लापरबाही गरे, आरोपितलाई उन्मुक्ति दिन भूमिका खेल्ने सबैमाथि अनुसन्धान हुनुपर्छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।