ललितपुर- आइतबार ललितपुरको जावलाखेलस्थित फ्लोरीकल्चर मेलामा फूल बेच्न व्यस्त थिए टोखाका तिर्थबहादुर महर्जन। फ्लोरीकल्चर एसोसिएसन नेपालको पुष्प मेलामा फूल किन्नेहरुको भिड उस्तै थियो। मेलामा आउने ग्राहकलाई फूलको मूल्य, फूलको जातबारे बताउँदै, बेच्दै गर्दा उनलाई अन्य मानिससँग बोल्ने फुर्सदसमेत थिएन।
बिगत ३५ वर्षदेखि फूल खेती गर्दै आएका तिर्थ भन्छन्, ‘नेपालमा फूलको माग बढ्दो छ तर नेपालमै बिउ उत्पादन गर्न नसक्दा र हाइब्रिड फूल उत्पादन नभएपछि वार्षिक करोडौंको फूल आयात गर्नुपर्ने समस्या छ।’
नेपालमा पछिल्ला वर्षहरुमा फूलको माग बढ्दै गएको छ। माग बढ्न थालेपछि फूलको व्यवसाय पनि फस्टाउँदै गएको छ। पुष्प व्यवसायलाई जोखिमपूर्ण व्यवसायका रुपमा लिइने भएपनि यसको आकर्षण भने बढ्दो छ।
पुष्प व्यवसायीका लागि व्यापारको प्रमुख सिजन हो तिहार। तिहारमा मात्रै काठमाडौंमा लाखौंको व्यापार हुने गर्दछ। पुष्प व्यवसाय फस्टाउँदै गए पनि नेपालमा हरेक वर्ष करोडौंको फूल विदेशबाट आयात गर्नुपरेको यथार्थ हाम्रो सामु छ।
नेपालमा फूलको आयात/निर्यात कति ? सन् १९९० देखि नेपालमा फूल व्यवसाय गर्न थालिएको भनिए पनि यो व्यवसायले त्यति ठूलो फड्को मार्न सकेको छैन। विदेशबाट हरेक वर्ष करोडौंको फूल आयात गर्नु र नगन्य मात्रामा निर्यात गर्नुपर्ने बाध्यता जस्ताको तस्तै छ।
फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ करोडको फूल विदेशमा निर्यात गरिएकोमा आ व २०७५/०७६ मा निर्यात घटेर १ करोडको मात्रै भएको छ। आर्थिक वर्ष २०७४/०७५मा १० करोडको फूल आयात गरेको नेपालले आर्थिक वर्ष २०७५/०७६मा १९ करोडको आयात गरेको छ।
किन बढ्यो आयात ? नेपालमा झण्डै दोब्बर मात्रामा फूलको आयात बढ्नु दुखद भएको एसोसिएसनका अध्यक्ष कसजु बताउँछन्। फूलको बिउ नेपालमा उत्पादन हुन सकेको छैन। जसले गर्दा एकातिर बिउ आयात गर्ने क्रममा नेपाली पूँजी बाहिरिएको छ भने अर्कोतिर प्रविधि र प्राविधिकका अभावले पनि नेपालमा सोचेजति फूल उत्पादन गर्न सकिएको छैन।
पछिल्लो समय फूलको प्रचलन बढ्दै गएकोले पनि फूल आयात बढेको छ। यतिमात्रै होइन, फूलको मूल्य बढ्न गई उपभोक्ताले चर्का मूल्य तिर्नुपरेको छ। पुष्प व्यवसायप्रति सरकारले खासै वास्ता नगरेको व्यवसायीको आरोप छ। बजारको अभाव नभए पनि व्यवस्थित बजारको खाँचो देखिएको छ।
केही वर्ष अगाडिसम्म भारतमा निर्यात गरिने फूल पछिल्ला वर्षहरुमा अन्य मुलुकहरुमा पनि निर्यात हुँदै आएको छ। आयातको सन्दर्भमा पनि नेपालले अहिले विभिन्न मुलुकबाट फूल ल्याउने गरेको छ। अध्यक्ष कसजु भन्छन्, ‘कट फ्लाओरहरु बढी खाडी मुलुकमा निर्यात हुने गरेको छ भने अन्य फूल युरोपमा बढी निर्यात हुन्छ। जाडो मौसममा सबैभन्दा बढी फूल निर्यात हुन्छ।’
आधुनिकतासँगै फूलको माग र उपयोग बढ्दो छ। विगतमा धार्मिक पूजापाठका लागि मात्रै प्रयोग हुने फूल अचेल हरेक सभा, समारोह र उत्सवदेखि भेटघाटमा समेत व्यापक प्रयोग हुन थालेको छ, जसले पुष्प व्यवसायको भविष्यलाई उज्यालोतर्फ उन्मुख बनाएको छ। फूलको अधिक खपत हुने सिजन भनेकै तिहार, भ्यालेन्टाइन डे र विवाहको मौसम हुन्। अहिले नेपालमा गुलाब, ग्लाडियस, कार्नेसन, जर्बेरा, सयपत्रीलगायत फूल अधिक बिक्री हुनेमा पर्छन्।
नेपालमा पुष्प व्यवसायमा लगानी कति ?नेपालमा करिब ७०० व्यवसायी फ्लोरीकल्चरमा आबद्ध छन्। एसोसिएसनका अनुसार ४३ जिल्लाको १ सय ५७ हेक्टर क्षेत्रफलमा फूल खेती गरिन्छ। जसमा ४३ हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न हुँदै आएका छन्। साढे ६ अर्बको लगानी रहेको पुष्प व्यवसायमा युवाको आर्कषण बढ्दै गएको एसोसिएसनलले जनाएको छ।
के छन् फूल व्यवसायका समस्या ?नेपालमा फूल व्यवसाय फस्टाउँदै गए पनि केही चुनौती र समस्या छन्। २०६९ मा संसदबाट पुष्प नीति पारित भएको छ जसले व्यससाय गर्न चाहनेलाई अझै सहज बनाएको छ। त्यैपनि सरकार भने अन्य क्षेत्रमा जस्तै पुष्प व्यवसायमा पनि उदासीन छ। अन्तराष्ट्रिय बजारमा फूलको व्यवसाय प्रतिस्पर्धात्मक छ।
अध्यक्ष कसजु भन्छन्, ‘नेपालमा उपभोक्ताको रुचीलाई अनुसन्धान नगरी परम्परागत शैलीमा व्यवसाय गर्दा पनि फूल व्यवसायले फड्को मान सकेको छैन।’
पुष्प व्यवसाययी रामकुमार पहरी भन्छन्, ‘विश्वबजारमा उच्च प्रविधि (हाईटेक) प्रयोग गरी फूल उत्पादन गरिन्छ, ढुवानी, भण्डारण र बिक्रिसम्मको काम नै अधिकांश प्रविधिमैत्री छन्। तर नेपालमा अझै परम्परागत तरिका अपनाइन्छ। झन्डै एक दशक यता मात्रै सेमिटेक प्रविधि प्रयोग गर्न थालिएको छ। यी समस्या सम्बोधन हुनसके नेपालमा पुष्प व्यवसाय फस्टाउन सक्ने सम्भावना छ।’
सहर केन्द्रित बजार पुष्प व्यवसाय सहर केन्द्रित भएको व्यवसायीहरु बताउँछन्। पुष्प व्यवसायको लक्षित ग्राहक नै धनी र विलासी जीवन बिताउने वर्ग भएकाले यो व्यवसाय सहर केन्द्रित हुने गर्छ। काठमाडौँ, पोखरा, चितवन, धरान, बुटवल जस्ता स्थानमा विशेष माग हुने गरेको व्यवसायीहरुको अनुभव छ।
तस्बिरहरु: दिनेश श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४