काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गरिएका कर्मचारीलाई तोकिएकै पदमा हाजिर गराई काममा खटाउन सबै स्थानीय तहलाई निर्देशन जारी गरेको छ। समायोनका क्रममा दरबन्दी नै नभएका पद, तह तथा श्रेणी नमिलाई समायोजन गरिएको स्वीकार गर्दै मन्त्रालले पदस्थापन पत्र लिएर आउने कर्मचारीलाई पत्रमा उल्लेख भएबमोजिमको पदमा हाजिर गराउन निर्देशन दिएको हो।
दरबन्दी भन्दा बढी संख्यामा समायोजन तथा पदस्थापना गरिएका कर्मचारीलाई समेत तोकिएकै स्थानमा काम गर्न निर्देशन दिँदै सूचना जारी गरिएको छ।
कतिपय स्थानीय तहमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मीको पदस्थापन गरिँदा तथा पद तथा तह नमिलाई खटाइँदा स्थानीय तहहरूलाई कसलाई कसरी हाजिरमा गराउने भन्ने अन्योल सिर्जना भएको थियो। यद्यपि, पद र दरबन्दी नै नभएको संस्थामा जबरजस्ती हाजिर गराइएका कर्मचारीलाई के काम लागाउने भन्नेबारे भने मन्त्रालयले केही खुलाएको छैन।
मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘समायोजन हुँदा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएका तहहरूमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दी परिपूर्ति नगरी समायोजन भएका कर्मचारीलाई क्रमशः मिलान गर्दै जाने र अन्य रिक्त स्थानमा मिलान गरिनेछ।’
आजदेखि गुनासो दर्ता बन्द
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ल्याव असिस्टेन्ट बाहेक अन्य पदको गुनासो दर्ता नगर्ने भएको छ। समायोजन भएका कर्मचारीहरुलाई १७ असोजसम्म गुनासो दर्ता गर्न म्याद दिएको थियो तर हालसम्म पनि गुनासो निवेदन दर्ता हुन आएको मन्त्रालयले जनाएको छ। बिहीबार नै मन्त्राललयले सूचना जारी गर्दै वैद्य र ल्याव असिस्टेन्ट पद बाहेक अन्य विषयको गुनासो दर्ता नगरिने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४