काठमाडौं- सुजुकीले भित्र्याउन लागेको नयाँ कारको बुकिङ खुल्ला गरेको छ । २२ लाख ९९ हजार रुपैयाँमा किन्न सकिने गरि सुजुकीले नयाँ कार एस-प्रेसोको बुकिङ खुलाएको हो ।
कम्पनीका अनुसार सुजुकीले भित्र्याउन लागेको नयाँ कारमार्फत पहिलोपटक ह्याचब्याक कारलाई एसयुभीको डिजाइन दिएको छ । आधुनिक लुक्समा उपलब्ध कार डिजाइनमा उच्च ग्राउन्ड क्लियरेन्समा ध्यान दिइएको छ । जसका कारण ग्रामीण सडकमा कडा सहरी सडकमा दौडाउन पनि सहज हुनेछ ।
कारले २१.७ किलोमिटर प्रतिलिटर माइलेज दिने सीजी मोटोकर्पले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। हियरटेक्क चेसिसको पाँचौँ जेनेरेसनमा बनेको यो कार तुलनात्मक रूपमा बलियो र सुरक्षित रहेको दाबी कम्पनीको छ ।
यो कारले आधारभूत सुरक्षाका मापदण्ड पूरा गरेको प्रमाणितसमेत भइसकेको कम्पनीले जनाएको छ । कारमा दुईवटा एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, सिट बेल्टमा वार्निङ र तीव्र गतिको सूचना दिने इन्डिकेटरसमेत दिइएको छ ।
एस–प्रोसो कारमा एड्भान्स स्मार्टप्लेट स्टुडियो म्युजिक, इन्टरटेनमेन्ट र नेभिगेसन सुविधा समेत दिइएको छ । यस्तै पहिलोपल्ट स्टेरिङ माउन्टेड अडियो र भ्वाइस कन्ट्रोल फिचर पनि कारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४