काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काले राजीनामा दिने यो उपयुक्त समय भएको बताएका छन्। मंगलबार अप्रत्याशित
रुपमा राजीनामा घोषणा गरेका खड्काले आफ्नो निर्णय योजनाबद्ध र उपयुक्त समय भएको प्रतिकृया दिए।
सञ्चारकर्मीसँगको कुराकानीमा पारसले कप्तानी त्यागे पनि क्रिकेट कहिल्यै त्याग्न नसक्ने बताए। ‘एउटै भूमिकामा सधैं निभाउन सकिँदैन। समयअनुसार सबै कुरा परिवर्तन भइरहन्छ।', पारसले भने, 'आज म जुन स्थानमा छु सधैं एउटै रहँदैन। कप्तानी त्यागे पनि खेलाडीको रुपमा र त्यसपछि जुनसुकै रुपमा भए पनि क्रिकेटमै लागिरहने छु।’आफूले हतारमा अप्रत्यासित रुपमा यो निर्णण नलिएको समेत उनले प्रष्ट पारे।
उनले साढे ३ वर्षदेखि आईसीसीको निलम्बन फुकुवाको मिति कुरेको र फुकुवासँगै राजीनामा दिएको बताए। नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व पनि आएको र आईसीसीले निलम्बनसमेत फुकुवा गरेको भन्दै पारसले अबका दिन समग्र क्रिकेटको विकासका लागि स्वर्णिम रहने बताए।
'अब नेपाली क्रिकेट टिमको कप्तान जो बने पनि नेपाली क्रिकेटको जित हुनु पर्छ। नेपाली क्रिकेटले अहिलेसम्म जुन उपलब्धि हासिल गरेको छ त्यसमा खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ। म कप्तान भएकै कारण नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको पनि होइन र म कप्तानबाट हट्दैमा यो उपलब्धि गुम्छ भन्ने पनि छैन। यहाँसम्म आइपुग्न सम्पूर्ण खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ।', पारसले भने।
क्यानको नवनिर्वाचित कार्यसमितिसँगको असहमतिका कारण राजीनामा दिएको आरोपलाई भने उनले अस्वीकार गरे।
उनले आफ्नो कप्तानीमा नेपाललाई टी-ट्वान्टी विश्वकप र एकदिवसीय मान्यता दिलाउन सफल भएकोमा खुसी व्यक्त गरे।
कप्तानी त्याग्ने घोषणा गरेका पारसले खेलाडीका रुपमा पनि केही समय विश्राम लिने बताएका छन्।
करिब १० वर्ष नेपाली टिमको नेतृत्व गरेका पारसले मंगलबार कप्तानबाट राजीनामा दिएका थिए। आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको २४ घण्टा नबित्दै पारसले कप्तानी छाडेका हुन्। पारस सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै नेपाली राष्ट्रिय टिमको कप्तान बनेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४