बिहीबार, वैशाख १३, २०८१

कृष्णभक्त जसले खर्पनलाई साथी बनाए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गोदावरी-११ ठेचोका कृष्णभक्त महर्जन खर्पनमा सामान राखेर काठमाडौंका गल्लीगल्ली चहार्न थालेको तीन दशकभन्दा बढी भैसकेको छ।

६४ वर्षीय कृष्णभक्त खर्पनमा मसला र तेल बोकेर बिहानै घरबाट निस्कन्छन्। ‘सुरुमा तरकारी पनि बिक्री गर्थेें, हिजोआज मसला र तोरीको तेल बिक्री गर्छु’, तीनकुनेमा भेटिएका कृष्णभक्तले भने।

उनले दैनिक ५ देखि ६ हजार रुपैयाँ बराबरको सामान बिक्री गर्छन्। 

‘हाम्रो समुदायमा खर्पन बोक्ने चलन धेरै पुरानो हो, मेरा लागि त सबैभन्दा नजिकको साथी नै यही भएको छ,’ खर्पन बोक्दाबोक्दा काँधको छाला बाक्लो भइसकेका महर्जनले खर्पनसँग आफ्नो नाता खुलाए।  

उनले कहिलेदेखि खर्पन बोक्न थालेका हुन् ठ्याक्कै मिति याद छैन । भन्छन्, ‘मैले खर्पन बोक्न थाल्दा तोरीको तेल सात रुपैयाँ प्रतिमानाका दरले बेचेको थिएँ अहिले १५० पुगिसक्यो ।’

अचेल तेलको बिक्री घट्दै गएपछि उनको खर्पनमा मसला पनि थपिएको छ। घरमै उत्पादित स्वच्छ वस्तु मात्र बिक्री गर्ने भएकाले खर्पनमा बेचिने सामानप्रति उपभोक्ताले विश्वास गर्ने उनको अनुभव छ । उनले खर्पनमा बोक्ने ३० देखि ४० किलोग्राम सामान दिउँसोसम्म प्राय: सबै बिक्री भइसक्छ। 

‘पहिले पहिले काठमाडौंका सडकमा खर्पनमा सामान डुलाउनेहरु प्रश्स्तै हुन्थे, अचेल निकै कम छन्,’ महर्जन भन्छन्, ‘नयाँ पुस्ताको त यसमा रुचि नै छैन ।’

कृष्णभक्तका छोरा पनि बाबुले खर्पन बोकेर गल्लीगल्ली डुलेको मन पराउँदैनन् । तर, कृष्णभक्त भन्छन्, ‘पुख्र्यौली पेशा यही हो, मैले वर्षौंदेखि खर्पनलाई साथी बनाएको छु, तागत रहुञ्जेल यसलाई छोड्दिन।’  

काठमाडौं उपत्यकामा ज्यापु समुदायले सामान बिक्री गर्नेदेखि अन्य सामान ओसार पसार गर्न खर्पन प्रयोग गर्ने चलन पुरानो हो । भक्तपुरको बालकोट, दधिकोट, मध्यपुर थिमी, काठमाडौंको स्वयम्भू, चक्रपथ, मुलपानी, नगरदेशलगायत क्षेत्रका बूढापाका तरकारी बजारसम्म पुर्याउन खर्पनकै प्रयोग गर्छन्। 

तर, बढ्दो सहरीकरण, ढुवानीका अन्य साधनको उपलब्धता र बजार संस्कृतिमा आएको परिवर्तनले अब खर्पनको प्रयोग निकै कम भइसकेको छ। 

ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जन आजभन्दा करिव १५ सय वर्षपहिले राजा नरेन्द्रदेवको पालामा भारतको आसामबाट रातो मच्छिन्द्रनाथको रथ खर्पन आकारकै औजारमा बोकेर ल्याइएको बताउँछन्। ‘त्यो औजार बनाउने व्यक्ति पाटनका ज्यापु थिए, पछि उनैले यसलाई खर्पन नाम दिए,’ प्रेम महर्जन भन्छन्, ‘उतिबेला किसानलाई खेतीपातीको काममा खर्पन निकै उपयोगी थियो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।