शनिबार, वैशाख ८, २०८१

छ माया छपक्कै : पानीमाथिको फोहोरी राजनीतिको कथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नेपाली फिल्म इन्डस्ट्रीमा यही असोज २४ गतेबाट एउटा नँया फिल्म थपिएको छ, ‘छ माया छपक्कै’। 

एउटा गाउँको सत्य घटनामा आधारित रहेर निर्माण गरिएको चलचित्रमा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा प्रभावलाई चलचित्रमा देखाइएको छ। एउटा गाउँको सानो तर वर्षौँदेखि जकडिएर बसेको विषयबस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र हो ‘छ माया छपक्कै’। 

राजनीतिक विषयलाई हास्यरसमा प्रस्तुत गरिएको चलचित्रलाई दर्शकले रुचाएका छन्। चलचित्रमा राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको छ।  

बिषेशगरी ग्रामिण परिवेशलाई बुझेका वा गाउँलाई भोगेका मानिसहरुलाई चलचित्रको कथाबस्तुले चित्त बुझाउन सक्छ भन्नेमा ढुक्क हुन सकिन्छ।

चलचित्रले एउटा खडेरी गाउँको पानीको समस्यालाई राजनीतिसँग जोडेको छ। ससाना कुरामा कसरी राजनीति गरिन्छ भन्ने कुरा चलचित्रले देखाएको छ। 

नेपाली समाजमा निष्ठाको राजनीति गर्नेहरुको अहिलेको अवस्थालाई चित्रित गर्नसक्नु यस चलचित्रको सबल पक्ष हो। चलचित्रका मुख्य पात्र बीपी (दीपकराज गिरी) का बाले जीवनभर गरेको निष्ठाको राजनीतिले न उनको राजनीति सफल भयो न जीवन नै।

सानै उमेरदेखि बाबुको कारणबाट राजनीतिमा लागेका बीपीले न राम्ररी पढ्न पाए न आफ्ना चाहनाहरु नै पुरा गरे। क्रान्तिकारी बाबुका सपना पुरा गर्न उनी राजनीतिमा लागिरहन्छन् तर नतिजा शुन्य।

हाम्रो समाजमा साना साना सपना बाँडेर राजनीति गर्न खुब सजिलो छ भन्ने कुरा राजनीति गरी उच्च पदमा पुग्नेहरुलाई राम्ररी थाहा छ। जनताहरुलाई आफ्नो पक्षमा पार्न कस्ता भ्रामक सपना बाँड्नुपर्छ भन्ने कुरा उनीहरुले सिकिसकेका छन्। यस चलचित्रमा पनि खडेरी गाउँमा हरेक चुनावमा नेताहरुले बाँड्ने एउटै सपना हो पानीको वितरण। 

चुनावको समयमा जति आश्वासन बाँडे पनि चुनावपछि समस्या ज्युँका त्युँ रहने यथार्थलाई टपक्क टिपेर प्रस्तुत गरिएको छ यस चलचित्रमा। जनताले भोग्दै आएका समस्यालाई चलचित्र मार्फत् उतारीएकाले दर्शकले मन पराएका छन्। 

खडेरी गाउँ पानीले काकाकुल बनेको छ। स्थानीहरु दैनिक घण्टौं हिडेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ। तर माथिल्लो टोड्के गाउँमा पर्याप्त मात्रामा पानी भए पनि फरक राजनीतिक धारका कारण खडेरी गाउँलाई पानी दिन सहमत छैनन्। खडेरी गाउँ टोड्के गाउँ फरक विचारधाराबाट प्रभावित छन्।

खडेरी गाउँमा पानी ल्याउन संघर्ष गरिरहँदा वीपीको जीवनमा प्रवेश गर्छिन् टोड्के गाउँकी जल (केकी अधिकारी)। 

राजनीतिको फरक धारका कारण दुई गाउँविचको हरेक सम्बन्धलाई छेकेको छ। प्रेम सम्बन्ध, मित्रतालाई लगायत अन्य सम्बन्धहरु राजनीतिक विचारधाराबाट प्रभावित भएका छन्। 
चुनावको समयमा पानी दिने आश्वासन बाँडे पनि चुनावपश्चात ती विषयमा चिन्तन नगर्ने विषयलाई चलचित्रले उठाएको छ। 

राजनीतिकै कारण अर्को गाउँलाई पानी नदिनु र पानी नभएको गाउँमा विबाह गरेर छोरीसमेत नदिँदा प्रविण (जीतु नेपालको) प्रेम असफल भएको देखाइएको छ। 
प्रेम सम्बन्ध सफल बनाउन र खडेरी गाउँमा पानी पुर्याउन जलको प्रयास प्रशंसनीय छ। 

गोली कान्छा (केदार घिमीरे) २०६२/६३ को आन्दोलनमा सहभागी हुँदा गोली खाएको मान्छे हो। अझै पनि एउटा ख्ट्टामा गोली बोकेर हिँडेको छ। 
ऊ आफ्नै ठुलोबुबा अर्थात् वीपीका बासँग अहोरात्र राजनीतिमा होमिएको छ। 

राजनीति साम, दाम, दण्ड, भेद जे प्रयोग गरेर भए पनि आफ्नो पक्षमा पार्नुपर्छ भन्ने मान्यता त छँदैछ। तर गाउँको तल्लो तप्कामा बसेर जनताको मनोभावनालाई सम्मान गर्दै रानजीति गर्नेहरुले भन्दा माथिल्लो तहमा बसेर गफ गर्नेहरुले पार्टीभित्र स्थान पाउने आजको हाम्रो राजनीतिलाई पनि प्रस्ट पारेको छ चलचित्रले।

छ माया छपक्कैले १० बर्षे जनयुद्धको उपलब्धि के हो भन्ने विषयलाई सोच्न बाध्य बनाएको छ। 

चलचित्रले राजनीति जसले गरे पनि निष्ठाको राजनीति गर्ने सफल हुन सक्छ भन्ने देखाउन सक्नुपर्थ्यो। तर त्यो पाउन सकिदैन। अर्को कुरा जनता जनार्जन एकजुट हुँदा समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ। 

खडेरी गाउँमात्रै होइन नेपालको धेरै गाउँहरुमा यस्ता समस्या ज्युँका त्युँ छन्। एक गाग्री पानीका लागि एकाबिहानै घण्टौं हिड्नुपर्ने बाध्यता कतिपय गाउँमा अझै पनि छ। 

आमा सरास्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त निर्माणमा बनेको चलचित्र छ माया छपक्कैमा दीपकराज गिरी, केकी अधिकारी, जीतु नेपाल, केदार घिमिरे, रमा थपलियाको अभिनय रहेको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र शुक्रबारदेखि प्रर्दशनमा आएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्