काठमाडौं- नेपालका ११ लाख ५० हजार मानिसमा दृष्टिदोष तथा अन्धोपना रहेको पाइएको छ।
विश्व दृष्टि दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले नेपालमा एक लाखभन्दा बढी दृष्टिविहीन रहेको बताए। यस्तै, १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषबाट प्रभावित रहेको उनको भनाइ छ।
विशेषज्ञका अनुसार नेपालमा ६६ प्रतिशत उपचार गर्न सकिने र १६ प्रतिशत रोकथाम गर्न सकिने अन्धोपना रहेको छ। डा. बुढाथोकीका अनुसार सन् २०१४ मा नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपनको समस्या देखिएको छ, त्यसमध्ये ८० प्रतिशतको अन्धोपनालाई उपचारमार्फत् हटाउन सकिन्छ।
यस्तै, कार्यक्रममा नेपालमा एक लाखभन्दा बढी दृष्टिविहीन रहेकाे तथ्यांक सार्वजनिक गरिएको छ।
कार्यक्रममा उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले नेपालका पहाडी तथा हिमाली जिल्लामा आँखा उपचारको पहुँच पुग्न नसकेको बताए।
नेपालमा सन् १९८१ मा पहिलोपटक अन्धोपनाको सर्वेक्षण गरिएको थियो। त्यतिबेला नेपालमा ०.८४ प्रतिशत मानिस दृष्टिविहीन थिए। सन् २०१० मा घटेर ०.३५ पुग्यो।
विश्वमा कति ? विश्वभर भने ३ करोड ६० लाख मानिस दृष्टिविहीन रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। यस्तै, २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन्।
विश्वमा २१ करोड ७० लाख मानिसमध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतियाविन्दुको समस्या छ, जसमध्ये ७५ प्रतिशतको समाधान गर्न सकिन्छ।
विशेषज्ञका अनुसार मोतीविन्दु, भिटाटिन ‘ए’ को कमी, जलविन्दु अन्धोपनाको प्रमुख कारण हुन्।
किन हुन्छ दृष्टिदोष ?कुनै पनि वस्तुलाई आँखाले राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ । दृष्टिदोष भएका बिरामीले टाढा वा नजिक राम्ररी देख्न सक्दैनन् । विशेषज्ञका अनुसार विशेषगरी एक वर्षमुनिका बालबालिकामा दृष्टिदोष विभिन्न कारणले हुने गर्छ, जस्तै ः वंशाणुगत कारण, जन्मजात हुने जलविन्दु आदि।
दृष्टिदोषको उपचारमा खेलाँची गरिँदा बालबालिकामा अन्धोपनको समस्या देखिन सक्ने विशेषज्ञ बताउँछन्। बालबालिकामा आँशु बग्ने, हेराइमा फरकपना, आँखा पोल्ने तथा पाक्ने समस्या देखिए उपचारमा ढिलाइ गर्न नहुने विशेषज्ञको भनाइ छ ।
तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत आँखाका बिरामीको संवेदनशीलतको सरकारले स्वामित्व लिनुपर्ने बताउँछन्। आँखाका बिरामीका लागि सरकारी अस्पताल स्थापना गर्न सरकारले चासो दिनुपर्ने उनको भनाइ छ।
नेपालमा ३ सय नेत्र विशेषज्ञ, ८ सय दृष्टि विशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४