कञ्चनपुर- जिल्लाको भीमदत्त नगरपालिका-९ जमुनाभाणीका बादी समुदाय दसैं मनाउनका लागि कर्जा खोज्न जुटेका छन्। बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन्। महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन।
महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी संकलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन्। भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताइन्।
“जुन ठाउँमा जे मजदुरी पाउँछौं। त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ,” उनले भनिन्, “दसैं आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन ।”
बादी बस्तीका गज्जो राना दसैंका लागि धेरै ठाउँमा कर्जा खोज्न गए पनि नपाएको बताउँछन्। “हिउँदमा मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाउँमा पुगे, कतैबाट पनि पाइएन,” उनले भने, “तिर्ने आधार के हो भनेर सोध्छन् ।”
मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा इच्छामै सीमित भएको उनको भनाइ छ।
“वर्षमा एकपटक किनेको लुगासमेत फाट्न लागेको छ। नयाँ किन्न सक्दैनौं,” स्थानीय केशव रानाले भने, “टालटुल गरेर लगाउन विवश छौं ।”
बस्ती नजिकैका गाउँमा दसैंको रौनकताले छपक्कै ढाकेको भए पनि बादी बस्तीका बासिन्दा भने दसैं के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन्। जनप्रतिनिधि आएपछि केही व्यवस्था हुन्छ कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घरसमेत पाएका छैनन्। उनीहरू झोपडीमा त्रिपाल राखेर वर्षौदेखि त्यही ठाउँमा बसिरहेका छन्।
बस्तीका धेरै परिवारका व्यक्ति वर्षौदेखि बिरामी भएका छन्। आर्थिक अभावले उपचार नपाउँदा झोपडीमै बस्न बाध्य छन् । बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकहरूले बीचमै विद्यालय छुटाएर आफूसँगै मजदुरी गर्नका लागि लग्ने गरेका छन्।
बस्दै आएको जग्गा नापजाँच गरी बस्नका लागि सुरक्षित आवासको व्यवस्था गरी दिन बादी समुदायले माग गरेका छन्। रोजगारीका अवसरसमेत प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण कायम गरिदिन सरकारसँग उनीहरूको माग छ।
बस्तीमा २५ परिवार बादी समुदायको बसोबास रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४