शुक्रबार, साउन २३, २०७७

ब्लग

सहयोगी नगरकी असहयोगी साहुनी

1578109550gharbeti.jpg
प्रतिकात्मक तस्बिर।

भदौ सुरुको साता भतिजीलाई लिएर काठमाडौं आइपुगें। रात्रिबसबाट ओर्लेपछि हामी सोझै भतिजोको डेरा गयौं।

क्याम्पस पढ्दै गरेको विद्यार्थी मेरो भतिजो, कोटेश्वरमा एउटा कोठा भाडामा लिएर बसिरहेको छ। कोठा फराकिलै रहेछ हामी अटायौं। भतिजीको स्वास्थ्य उपचार धनगढीमा हुन नसकेपछि काठमाडौं आएका थियौं हामी।

बिहानको खाना खाँदै गर्दा ढोकाबाट एउटी महिलाले चिहाइन्। ‘को हुन् भाइ यिनीहरू?’

भतिजोले जवाफ दियो, ‘अंकल र बहिनी हुन्। उपचारका लागि आएका।’

उनी अर्थात घरबेटी साहुनी फर्किइन्। उनको रुखो सोधाईले हाम्रो आगमन उनलाई चित्त नबुझेको ठम्याउन सकिन्थ्यो। हामी अस्पताल हिँडेपछि भतिजोलाई सोधिछन्, ‘कति दिन बस्छन् बहिनी र अंकल?’

हामी अस्पतालबाट फर्किएको केही बेरमात्रै भएको थियो, ढोकामा ढकढक आवाज आयो। ढोका खोलें, उनै घरबेटी रहिछन्।

‘कहिले जानुहुन्छ? सकियो त चेक अप?’

डाक्टरले एक हप्ताको औषधि दिएर फेरि आउन भनेको कुरा उनलाई सुनाएँ। उनी चुपचाप फर्किइन्। मलाई अझै सम्झना छ, उक्लाईको त्यो आवाज सहज थिएन।

चारतले घरको तेस्रो तला, सिँढी नजिकैको कोठामा थियौं हामीे। घरेबटीको परिवार माथिल्लो तलामा। तलमाथि गर्दा केही बहाना बनाएर साहुनी हाम्रो कोठामा पस्थिन्।

उपचारपछि भतिजी घर फर्किइन्, मलाई भने काठमाडौंमै बस्नु पर्ने भयो। कार्यरत संस्थाबाट पनि काठमाडौंमै रहेर काम गर्ने स्वीकृति पाएपछि मैले भतिजाकै कोठामा डेरा जमाएँ।

मासिक ५ हजार ५०० भाडा तिर्ने त्यो कोठा हाम्रो तत्कालीन आवश्यकता र गच्छे अनुसार पर्याप्त थियो। त्यसमाथि बिजुली, पानी, इन्टरनेट आदिको पैसा पनि समयमै बुझाइरहेको र ‘अनुशासित’ भएरै बसिरहेकाले घरबेटीका लागि म थपिंदा समस्या होला जस्तो लागेको थिएन। भतिजी फर्किइसकेकी थिइन्।

तर, मेरो अनुमान गलत सावित भयो। साहुनीले एउटा कोठामा भतिजोभन्दा थप मान्छेलाई बस्न नदिने अडान राख्दै तुरुन्तै कोठा खाली गर्न निर्देशन जारी गरिन्। हामी पनि तयार नै थियौं तर, केही समस्या थिए।

सबेरै कलेज जाने र उतैबाट काममा गएर राति ९ बजेमात्र फर्कने भतिजोलाई अर्को कोठा खोज्न सहज थिएन। कोठामा एक कप चिया पकाउन पनि नभ्याउने भतिजोको आशा जम्मै मतिर सोहोरियो।

म काठमाडौंका गल्लीमा राम्रोसँग परिचित थिएन, त्यसमाथि काममा जार्नै पथ्र्यो। तै पनि साँझ–बिहान समय निकालेर कोठा खोज्न थालें। अहँ! मरिगए पाइएन एउटा कोठा मेरा लागि।

कहीँ कोठा उपयुक्त नहुने, कतै पानी नहुने, कतै एउटै कोठाको १० हजार।

घरमा खाना त के पानी पनि नउमाल्ने र अबेर सुत्नमात्र आउने भतिजोका कोठामा म आएपछि पानी उमालिन थाल्यो। खाना पाक्न थाल्यो। नुहाई–धुवाई सबै हुनथाल्यो। त्यसकारण घरबेटीलाई रिस उठेको रहेछ।

राति घर पुगेपछि साहुनी आइहाल्थिन्, ‘कहिले सर्छौ?’ भन्दै। एक महिना वितिसकेको थियो। दसैंमा घर जान्छौं, फर्किएर सरौंला भनेपछि जेनतेन छुटकारा पाइयो।

तर, दसैँ मनाएर फर्किएलगत्तै म दुर्घटनामा परें। खुट्टामा गम्भीर चोट लागेपछि एक महिना थला पर्दा पनि साहुनीले कुनै दिन शान्तिपूर्वक बस्न दिइनन्।

खाना खाँदै गर्दा होस् वा कुनै जरुरी काम भइरहेका बेला उनी कोठामा पस्थिन र ‘अझै किन नसरेको? कहिले सर्ने?’ भनिरहन्थिन्। मेरो ब्याण्डेज गरिएको खुट्टा देख्दा पनि उनमा कत्ति करुणा पलाएन। ‘घरमा किन बसेको, कोठा खोज्न जाऊ’ भनिरहिन्।

यसैबीच चिनजानका एकजनाले शान्तिनगरमा आफू बस्ने कोठा छोड्न लागेको जानकारी दिए। अब म त्यहीँ सर्ने तय गरें, तत्कालै त्यो घरका घरबेटीसँग कुरा गरियो।

त्यसदिन लाग्यो अब ठूलै समस्याबाट छुटकारा पाउँदैछु। सधैँ घरबेटी आइपुग्लिन् र कचकच गर्लिन् भन्ने तनाव हुन्थ्यो। त्यसदिन भने म प्रफुल्ल भएर उनलाई पर्खिरहेको थिएँ। छाती फुलाएर ‘तपाईंको घर अब एक सातामै छोडदिन्छु’ भन्नका लागि।

तर, आफ्नो कोठामा ताल्चा लगाएर गएका ती आफन्त दुई सातापछि आएर कोठा नसर्ने जानकारी दिए। त्यसदिन मलाई कोठामा भन्दा बरु सडक छेउ कतै सुत्न जाउँ झैं भयो।

वाईफाई पासवर्ड

एकदिन बिहान महत्वपूर्ण सूचना पाएँ। मोबाइलमै टाइप गरेर न्यूज डेस्कलाई ईमेल गर्नै आँटेको थिएँ, वाइफाई डिस्कनेक्ट भैदियो। माथि गएर ‘आन्टी नेट बन्द भएछ, मेरो काम हुँदै थियो’ मात्र के भनेको थिएँ, ‘तपाईंलाई कति नेट चाहिन्छ? एकछिन खाली बस्न सक्नुहुन्न?’ भनेर हकारिन्।

म शान्त रहन प्रयास गर्दै फेरि विन्ती चढाएँ, ‘पत्रकार हुँ, समाचार पठाउनका लागि इन्टरनेट जरुरी हुन्छ।’ उनको घर सफा गर्न आउने महिलाले तार हल्लाइदिंदा कनेक्सन गएको रहेछ, कुरा गर्दागर्दै आफैं कनेक्ट भयो। म फर्किएँ।

मैले इन्टरनेट मलाई किन जरुरी छ भन्ने बुझाएको केही बेरमै फेरि डिस्कनेक्ट भएको वाईफाई त्यसपछि कनेक्ट हुनै सकेन। घरबेटीले पासवर्ड परिवर्तन गरिसकिछन्।

इन्टरनेट नहुँदा विद्यार्थी भतिजोलाई पढाइमा समस्या भए पनि साहुनीले ‘तिम्रा काकाले कोठा नछोड्दासम्म पासवर्ड दिन्न’ भनेर उर्दी जारि गरिदिइन्।

अंकलभन्दा गाली

त्यो कोठामा बस्न थालेको तीन महिना भइसक्दा पनि साहुनीका पतिसँग बोल्ने अवसर जुरेको थिएन।

कोठा छोड्नुभन्दा केही दिनअघि लुगा धोएर छतमा सुकाउन गएँ। साहुनी एक छेउमा पूजा गरेजस्तो केही गर्दै थिइन्, साहुजी त्यही छतमै अर्को कुनातिर साग केलाउँदै थिए। लुगा सुकाउने डोरी भरिभराउ थियो। साहुजीले एउटा ठूलो तन्ना केही खुम्च्याएर मेरा लागि लुगा सुकाउने ठाउँ बनाइदिए।

अचम्म लाग्यो, साहुजी त सहयोगी रहेछन्। त्यसैबेला साहुनी ‘यो तन्ना किन खुम्च्याएको, अर्काको लुगा चलाउने’ भन्दै मलाई झपार्न थालिन्।
मैले सधैँ झैँ नम्र बोलीमा भनें, ‘मैले सारेको हैन, उहाँ...अंकलले हो।’

‘छिः कस्तो मान्छे रैछ, कपाल फुलेकाले पनि अंकल भन्न सुहाउँछ’ उनी चर्को स्वरमा बोलिन्। साहुजीलाई पत्नीको कुरा बिझाएछ क्यारे। उनले भने, ‘ठिकै त होला नि अंकल भनेको।’

लगत्तै मलाई सोधे, ‘कति भो उमेर?

‘३५ पुग्दै छु,’ मैले भनें।

‘ठिकै हो नि म ५५ पुगिसकेँ’ पति बोले।

तर, साहुनीले फेरि कोठाको कुरा निकालिहालिन्। भनिन्, ‘तपाईंलाई कोठा छोड्ने मन नै छैन, कोठा पाइएन भनेर बहाना गरिरहनुभा’छ। मैले बुझेको छैन र!”

मैले कोठा खोज्ने दलाललाई पैसा दिएकोदेखि आफैं पनि भ्याएसम्म त्यही काममा लागिरहेको सुनाएँ। त्यसबेला फेरि पतिले सजिलो पारिदिए, ‘कति कचकच गरेको, खोज्दै होलान्, भेटेपछि गइहाल्छन् नी।’

त्यसपछि उनी मेरा लुगाबाट झरेको पानीले छत भिजायो भनेर फतफताउँदै ओर्लिइन्। उनी गएपछि मलाई लाग्यो उनका पतिलाई मैले अंकल भनेको मन नपाराउने यि घरबेटी साहुनी उनी आफैंलाई मैले अन्टी भनेको चाहिँ कसरी सहेकी होलिन्? कतै त्यही कारण त होइन् मसँग रिसाएको!

कोटेश्वर सहयोगी नगरकी ती असहयोगी घरबेटीको व्यवहारले तीन महिनाको बसाइ मेरा लागि कस्ट साध्य भयो। अहिले नयाँ कोठामा सरेको छु। झ्याल नै नभएको नयाँ कोठाको भाडा झन् धेरै भए पनि बिहान बेलुका शान्त नै रहन्छ। आखिर काठमाडौं यसै पनि उकुसमुकुस नै छ।

प्रतिक्रिया दिनुहोस्