ललितपुर - ललितपुरको महापालमा नेपाली प्रविधिको ट्राफिक लाइट जडान गरिएको छ।
साँघुरो सडक तथा कार्यालय समयमा व्यापक चाप हुँदा महापालमा बिहानबेलुका सधैं जाम हुन्छ। पाटनका मंगलबजारसहित भित्री सडक र ग्वार्कोतर्फ जाने गाडी महापाल हुँदै चल्छन्। ‘ट्राफिक लाइट राखेपछि पक्कै पनि अवस्थामा सुधार आउनेछ,’ ललितपुर उपमहानगरपालिका–१६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले भने।
ट्राफिक लाइट नेपालमै पहिलोपटक प्राइभेट पब्लिक पार्टनरसिपमा जडान गरिएको हो । ट्राफिक लाइट नेपाली प्राविधिकले बनाएका हुन् । यसमा केही उन्नत प्रविधिको प्रयोग गरिएको बताउँछन् तन्त्र भेन्चर्सका प्रदीप श्रेष्ठ ।
सौर्य शक्तिले चल्ने यो ट्राफिक लाइटमा आर्टिफिसियल इन्टेलिजेन्ट प्रविधि प्रयोग गरिएको छ । ‘यसमा ट्राफिक लाइट मात्र नभएर सवारीको संख्या गणना गर्ने तथा सवारीको वर्गीकरण गर्ने सिस्टम पनि जडित छ,’ श्रेष्ठले भने, ‘कन्ट्रोल रुपमै बसेर सो सडकमा कतिवटा गाडी छन्, कुन–कुन प्रकारका गाडी छन् थाहा पाउन सकिन्छ ।’
अझ यसमा एउटा निश्चित दूरीसम्म सवारीको गति थाहा पाउने सिस्टम तथा रेड लाइट उल्लङ्घन गर्नेको पहिचान गर्ने सिस्टम पनि हाल्न सकिने श्रेष्ठ बताउँछन् । ‘यो रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न मिल्छ भने आएका डाटालाई अनलाइनबाटै सर्भरमा सेभ गर्न सकिन्छ,’ उनी भन्छन् ।
दैनिक हुने सडक दुर्घटनामा देशभर आठ जनाको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ। काठमाडौं उपत्यकामा मात्र दुर्घटनाको संख्या वार्षिक रुपमा बढ्दै गएर २०७४/७५ मा ६ हजार पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०१३ देखि २०२० सम्ममा सडक दुर्घटना न्यून गर्ने लक्ष्यका साथ ल्याएको कार्ययोजना प्रभावकारी हुन सकेको छैन।
सन् २०१८ मा सडक दुर्घटनमा ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ८४ थियो। गृह मन्त्रालयको तथ्यांकअनुसार चालकको लापरबाहीका कारण ७२ प्रतिशत, तीव्र गतिका कारण १८ प्रतिशत, मापसेका कारण २ प्रतिशत, क्षमताभन्दा बढी यात्रु बोक्दा एक प्रतिशत, जोखिमयुक्त सवारीका कारण १ प्रतिशत, पैदल यात्रीका कारण १ प्रतिशत, कमसल सडकका कारण १ प्रतिशत र अन्य कारणले ४ प्रतिशत दुर्घटना भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४