काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस भएकामा पहिलो नम्बरमा डा भगवान कोइराला, दोस्रोमा डा धर्मकान्त बास्कोटा र तेस्रोमा डा चन्द्रमणि पौडेल रहेका छन्।
१९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको हो। डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुन्।
त्यस्तै बास्कोटा त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका छन्। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर बास्कोटा नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश पाएका हुन्।
डाक्टर पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुन्। उनले भारतको पञ्जाब विश्वविद्यालयबाट तथ्यांकशास्त्रअन्तर्गत ‘इकोनोमेट्रिक्स’ मा विद्यावारिधि गरेका छन्। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४