बारा- बाराको फेटा गाउँपालिका– ४ बतरामा एकै परिवारका पाँच जनाको घरमै निसासिएर मृत्यु भएको छ ।
घरभित्रै मदिरा उत्पादनका लागि बनाइएको टंकीमा निसासिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको बाराका प्रहरी उपरिक्षक विकास राज खनालले जानकारी दिएका छन् ।
घटना बुधबार विहानैको भए पनि छिमेकीले रातिमात्रै उक्त घरमा केही चहलपहल नभएको देखेपछि खोजीनीति गरेका थिए ।
खुला ढोकाबाट भित्र पसेर खोज्दै जाँदा मदिरा उत्पादनका लागि घरभित्रै बनाइएको खाल्डोभित्र पाँचै जना लडिरहेको अवस्थामा फेला परेका थिए ।
मृत्यु हुनेमा ३५ वर्षीय जोगा मुखिया, उनकी ३२ वर्षीया श्रीमती लालमती देवी, १३ वर्षिया छोरी समनी कुमारी, भाइ ३० वर्षीय महेन्द्र मुखिया र भारत विहारका ५५ वर्षीय ससुरा डाबा मुखिया छन् ।
प्रहरी उपरीक्षक खनालका अनुसार दुईतले उक्त घरमा अण्डर ग्राउण्ड टंकी बनाई घरेलु मदिराका लागि चाहिने कच्चा पदार्थ भण्डारण गरिएको थियो ।
सोही कच्चा पदार्थ निकाल्न जाँदा अक्सिजनको अभावमा मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
स्थानीय वासिन्दाका अनुसार दुई वर्षदेखि मुखिया परवारले ठाऊँ परिवर्तन गर्दै घरेलु रक्सी उत्पादन तथा विक्री वितरण गर्दै आएको थियो ।
स्थानीयले केही दिन अगाडि मात्रै मुखिया दम्पतीको घरेलु रक्सीभट्टी भत्काईदिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४