काठमाडौं- संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि संघीय संसद्का सभामुख कृष्णबहादुर महराले मंगलबार पदबाट राजीनामा दिनुपर्यो।
राष्ट्रकै उच्च पाँचवटा ‘सम्माननीय’ पदमा पर्ने सभामुख जस्तो पदमात्र गुमाएनन्, महराले पदसँगै प्रतिष्ठा र इज्जत पनि गुमाए। यतिमात्र हैन, महरा यौन लालसाका कारण पद गुमाउने सम्भवतः सबैभन्दा उच्चपदस्थ व्यक्ति पनि बनेका छन् महरा।
यौन दुर्व्यवहार आरोपमा पद गुमाउने महरा एक्ला कम्युनिस्ट नेता हैनन्। उनीसँगै विगत एक वर्षमा मात्र चार नेताको पद गुमेको छ भने एक नेताले गरेको कर्तुत सामाजिक सञ्जालमा अझै भाइरल छ। पद गुमाउनेमा दुई प्रदेश सरकारका मन्त्री र एक उपसभामुखका स्वकीय सचिव छन्। यस्ता छन् यौन दुर्व्यवहारमा पद गुमाउने चार कम्युनिस्ट नेता :
दीर्घ सोडारी
पार्टीकै एक महिलासँग अनैतिक सम्बन्धका कारण सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको मंसिरमा पद गुम्यो। तत्कालीन एमालेका कैलाली अध्यक्ष सोडारी र ती महिलाबीच लामो समयदेखि अनैतिक सम्बन्ध रहेको सूचना पार्टी नेतृत्व तहसम्म पुगेको थियो। पार्टीले मन्त्री पद खोसेसँगै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बताए पनि सोडारीको प्रदेश सभा सदस्य पद भने कायमै छ।
केशव स्थापित
काठमाडौं महानगरपालिका पूर्वमेयरसमेत रहेका प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितको मन्त्री पद जानुमा पनि यौन दुर्व्यवहार जोडिएको छ। स्थापितको मन्त्री पद मुख्यमन्त्रीसँगको टसलका कारण गएको भनिए पनि उनले मेयर हुँदा गरेको यौन दुर्व्यवहार काण्ड पनि पद जानुमा सहयोगी बन्यो।
पत्रकार रश्मिला प्रजापतिले मेयर हुँदा आफूलाई यौन दुव्र्यवहार गरेको सामाजिक सञ्जालमा ‘मि टु अभियान’ अन्तर्गत स्ट्याटस लेख्दै यौनहिंसा भएको घटना सार्वजनिक गरेकी थिइन्। उनले स्थापितको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाउनुपरेको पनि लेखेकी थिइन्। त्यसपछि विवादमा तानिएका स्थापितले अन्ततः मन्त्री पदबाट राजीनामा दिनुपर्यो।
हरिश भट्ट
सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षक महिलालाई यौन प्रस्ताव राखेर तनाव दिएपछि स्वकीय सचिव हरिश भट्टको जागिर गयो। भट्ट अनेरास्ववियु दार्चुलाका नेता हुन्।
भट्टले उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेन्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएका थिए। यो घटना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि भट्टलाई जागिरबाट निकालिएको हो।
स्वकीय सचिव भट्टको यौन प्रस्तावसहितको यातनापूर्ण ब्यवहारका कारण उपसभामुख जोशीका अंगरक्षक हरेक दुई महिनामा फेरिने गरेका थिए।
ओझाको कर्तुत भाइरल
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गाउँकै एक युवतीलाई फेसबुक म्यासेन्जरमा पठाएको आफ्नो अश्लील तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ओझा तत्कालीन एमालेबाट निर्वाचित भएका हुन्।
अध्यक्ष ओझाले आफ्नो नांगो तस्बिर सेल्फी खिचेर केटीलाई पठाएपछि उनका केटा साथीमार्फत बाहिरिएको बुझिएको छ। अध्यक्ष ओझाले गरेको हर्कतको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
ओझाको नांगो तस्बिर उनकै पार्टी नेकपाका उच्चतहका नेतासम्म पनि पुगेको एक नेताले बताए। ओझा यौनको मामिलामा पहिलेदेखि नै विवादमा तानिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४