मंगलबार, चैत १८, २०७६

समाचार स्वास्थ्य/जीवनशैली

एसियामा जलवायु परिवर्तनको असर विकराल, दुई अर्ब ४० करोड जनसंख्या जोखिममा

एसियामा जलवायु परिवर्तनको असर विकराल, दुई अर्ब ४० करोड जनसंख्या जोखिममा

सन् २०१९ मा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका बासिन्दाले गम्भीर संकटको सामना गरे। समुद्री तटका बस्तीहरूमा आँधीले जनजीवन प्रभावित बनायो।

ठाउँठाउँमा परेको खडेरी र घना जंगलमा आगलागी हुँदा कैयन् सहरमा पानीको हाहाकार मच्चियो। विषालु धुवाँले एसियाका ठूलाठूला सहर प्रभावित भए। बाढीपहिरोमा परेर सयौंको ज्यान गयो।

वैज्ञानिकहरूले भनेका छन्, मौसममा देखा परेको संकटले एसिया प्रशान्त क्षेत्रमा विनाशकारी परिणाम निम्त्याइरहेको छ।

‘विगत दुई वर्षमा निरन्तर रूपमा प्राकृतिक प्रकोपको शृंखला जारी छ। यो क्षेत्रले व्यहोरेका यस्ता घटना भविष्यवाणी गर्न सकिने खालका थिएनन्,’ संयुक्त राष्ट्रसंघको एसिया प्रशान्तसम्बन्धी आर्थिक तथा सामाजिक आयोगको प्रतिवेदनमा भनिएको छ,’ ‘यो वातावरणको अवस्थामा देखा पर्न लागेको नयाँ चुनौती हो।’

एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख मुलुकमा बसोबास गर्ने लाखौं नागरिकले जलवायु संकटलाई गम्भीर समस्याका रूपमा लिएका छन्।  यस्तो समस्याले जीवनका हरेक पक्षमा असर गरेको छ। त्यसैले एसिया जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने अवस्थामा छ।

जलवायु संकटका कारण संवेदनशील बन्दै गएको यस क्षेत्रमा विश्व जनसंख्याको ६० प्रतिशत मानिस बसोबास गर्छन्।

धेरै एसियाली देशमा तीव्र सहरीकरण भइरहेको छ। विकासका पूर्वाधार बिनायोजना अगाडि बढिरहेका छन्। जनसंख्याको ठूलो हिस्सा कामका लागि सहरी क्षेत्रमा बसाइँ सरिरहेको छ। परिणामस्वरूप सहरी क्षेत्रमा खानेपानी र खाद्यान्न आपूर्तिमा संकट देखा परेको छ।

एसियाका ठूला सहरहरू मुम्बई, सांघाइ, बैंकक, हो ची मिन्ह सिटी र जकार्ताका तटीय क्षेत्रमा समुद्री सतह बढेको छ। यी क्षेत्र संवेदनशील बन्दै छन्।

भारत र चीन स्वच्छ ऊर्जाको क्षेत्रमा निर्भर हुन खोजे पनि तीव्र औद्योगीकरण र कोइलामा निर्भर एसियाली मुलुकहरूले र्काबनडाइअक्साइड उत्सर्जनको मात्रा बढाइरहेका छन्। जब जब भौतिक विकास बढ्दै जान्छ, तब बजारमा एयर कन्डिस्नर, कार र डिस्पोजेबल सामग्री उत्पादन र प्रयोगमा उपभोक्ताको माग बढ्छ।

हङकङजस्ता ठूला सहरहरूले मात्र प्राकृतिक प्रकोप मापनका लागि खर्च गर्न सक्नेछन्। वातावरण खराब भएका स्थानमा गरिबीले ग्रस्त मानिसको बसोबास रहेको तथ्य छ। जहाँ मौसम परिवर्तन र प्राकृतिक विपद्ले जनजीवन, खाद्य उत्पादन, पानीको स्रोत, अर्थ व्यवस्था र पूर्वाधारमै समस्या निम्त्याइरहेका छन्।

‘हामीले तत्कालै मौसम परिवर्तनलाई न्यूनीकरण गर्ने गतिविधि गरेनौं भने शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि हुनेछ। यसले मानव जीवनलाई नै हानि गर्नेछ,’ विश्व मौसम विज्ञान संगठनका महासचिव पेटेरी तालसले भनेका छन्, ‘हामी पेरिस सम्झौताको लक्ष्य पूरा गर्ने ट्र्याकमा अझै छैनौं।’

मौसम परिवर्तनको पहिलो असर सामोआको टापुको तटीय क्षेत्रका बासिन्दा टागालोआ कुपर हालोले पहिलोपटक अनुभव गरेका छन्। ‘समुद्रको तह माथिमाथि आउँदै छ,’ मौसम परिवर्तनसम्बन्धी प्रशान्त क्षेत्रीय पर्यावरण कार्यक्रमका निर्देशक कुपरले भने, ‘हामीले २० वर्षमा समुद्री सतहको वृद्धि हुने अपेक्षा गरेका थियौँ। तर अहिले नै समुद्री सतह वृद्धि हुँदै गएको छ।’

जलवायु परिवर्तनका गतिविधि रोक्न माग गर्दै नोभेम्बर २९ मा भारतको चेन्नाईमा प्रदर्शनमा उत्रिएका विद्यार्थी।

मौसम परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी प्यानलको यस वर्षको एउटा महत्त्वपूर्ण प्रतिवेदनले समुद्री सतह विश्वव्यापी रूपमै अपेक्षितभन्दा तीव्र रूपमा बढिरहेको तथ्य सार्वजनिक गरेको छ। २०१९ मे महिनामा सार्वजनिक प्रतिवेदनअनुसार हरित गृह ग्यास उत्सर्जन, तापमान वृद्धि, हिमनदी पग्लँदै जाँदा शताब्दीको अन्त्यसम्ममा समुद्री सतह दुई मिटरभन्दा माथि आउन सक्छ। समुद्री सतह २ मिटर बढ्दा १८ करोड ७० लाखभन्दा बढी मानिस थातथलोबाट विस्थापित हुनेछन्। अर्को एक अध्ययनले के देखाएको छ भने दक्षिणपूर्वी एसियाका भियतनाम र बैंकक सन् २०५० सम्ममा पानीमुनि पुग्न सक्छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार एसिया प्रशान्त क्षेत्रका बासिन्दाले बढ्दो समुद्री सतहमा अनुकूलन हुनका लागि विशेष चुनौती सामना गर्नुपरिरहेको छ। यस्ता चुनौतीमा तटवर्ती क्षेत्र र पूर्वाधारको रक्षा तथा बाढीबाट जोखिममा पर्ने क्षेत्रहरूको पहिचान छन्।

कुपर हालोका अनुसार प्रशान्त क्षेत्रका मानिसहरु परिवर्तित वातावरणसँग अनुकूलन हुन थालिसकेका छन्। उनीहरूले समुद्री सतहको वृद्धि र बालीनालीमा समुद्रको पानी मिल्ने गरी अनुगमन केन्द्रहरू स्थापना गरिरहेका छन्। आहारविहार परिवर्तन गरिसकेका छन्।

हालोले भनेका छन्, ‘जब स्रोतहरू पर्याप्त हुँदैनन्, यसले तपाईं परनिर्भर बन्नु हुनेछ। प्रशोधित खानामा निर्भर हुनु हुनेछ। हामीले प्रशोधित खाद्यान्न पर्याप्त मात्रामा आयात गर्नुपर्छ। यसले हाम्रो खानपानको शैलीमै परिवर्तन ल्याउनेछ र यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ।’

२ अर्ब ५० करोड जनसंख्या जोखिममा

झन्डै २ अर्ब ५० करोड अर्थात् एसियाको आधा जनसंख्या मौसमका कारण उत्पन्न हुने जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्छन्। यस वर्ष बाढीपहिरो, मुसलधारे वर्षाले विनाश निम्त्याउँदा भारत, नेपाल, पाकिस्तान र बंगलादेशमा सयौँको ज्यान गयो।

सन् २०१९ मा चीन, भियतनाम, जापान, भारत, बंगलादेश, दक्षिण कोरिया, थाइल्यान्ड, फिलिपिन्सजस्ता मुलुकमा आँधीबेहरीका कारण सयौंको ज्यान गयो।

हजारौं विस्थापित भए भने लाखौँं डलरको क्षति भयो। मौसम परिवर्तनले मौसममा देखा परेको संकटले आँधीबेहरी र भारी वर्षाको सम्भावना व्यक्त गरिएको छ।

फिलिपिन्सकी जोन्ना सस्टेन्टोले मौसम परिवर्तनसम्बन्धी अभियान जारी राखेकी छन्। सन् २०१३ मा हैयान नामक आँधीले उनको घर विनाश गरेपछि उनी यस्तो अभियानमा जुटेकी हुन्।

उक्त शक्तिशाली आँधीबाट उनले आफ्ना बाबुआमा, भाइ, सासू र भतिजा गुमाएकी थिइन्। सस्टेन्टोले भनिन्, ‘हामीले वर्षमा करिब २० वटा आँधीको सामना गरिरहेका छौँ। त्यस्ता आँधी ठूला खालका हुन्छन्। फिलिपिनो समुदायको घर र जीवनपद्धतिमा यसले क्षति पुगेको छ। प्रियजनहरू गुमेका छन्। शुद्ध खानेपानी र खाद्यान्न अभाव भएको छ।’

यति मात्र होइन, बारम्बार भइरहने मौसम परिवर्तनका घटनाले सुरक्षा, सभ्य र मर्यादित जीवन बिताउन पाउने आधारभूत मानवअधिकार पनि गुमाएको उनको भनाइ छ।

आँधीबाट क्षतिग्रस्त घरको भग्नावशेष अवलोकन गर्दै दक्षिण फिलिपिन्सकी महिला।

विश्व मौसम विज्ञान संगठनका अनुसार विश्वमा सन् १९७० देखि २०१९ सम्म भएका मुख्य १० प्राकृतिक विपद्मध्ये सातवटा आँधी छन्।
ती आँधीका कारण ठूलो आर्थिक क्षति भएको छ। आर्थिक क्षति हुनेमा विपन्न मुलुक नै धेरै छन्।

मौसमी संकटका कारण वर्षा र मनसुन पनि असन्तुलित हुन थालेको छ। अनियमित वर्षा र खडेरीले कृषि उत्पादनमा असर परेको छ।

जापान, चीन, भारत, पाकिस्तान र अस्ट्रेलियामा विगत पाँच वर्षमा तापमान वृद्धि भइरहेको छ। यस्तै केही सहरमा निकै तातो हुन सक्ने मौसम परिवर्तनसम्बन्धी राष्ट्रसंघीय निकायले अनुमान गरेको छ।

यस वर्ष भारतको छैटौँ ठूलो सहर चेन्नाईमा पानीको अभाव भयो। ५० करोड जनसंख्याका लागि पानी आपूर्ति गर्ने चारवटा जलाशय पूर्ण रुपमा सुके।

मानिसहरू पानी भर्ने भाँडो लिएर लाम लागेका थिए भने अस्पतालमा पानी नहुँदा शल्यक्रियाजस्ता महत्त्वपूर्ण उपचारमा पनि पानी अभाव भएको थियो।

हिमनदी पग्लिएर र पानीका स्रोत सुक्दै गएका कारण भारतका ६० करोड जनसंख्या पानीको हाहाकार व्यहोरिरहेका छन्।

‘हामीसँग यस्तो अर्थव्यवस्था छ, जहाँ उद्योग बढिरहेका छन् र जनसंख्या पनि बढिरहेको छ। त्यसैले हामीलाई ४० प्रतिशतभन्दा बढी पानी उद्योगका लागि आवश्यक छ भने मानिसका लागि पनि पर्याप्त पानी चाहिन्छ,’ भारतीय एक गैरसरकारी संस्था ‘फोर्स’ की अध्यक्ष ज्योति शर्माले भनिन्।

यसै महिना सार्वजनिक प्रतिवेदनका अनुसार विश्व जनसंख्याको चौथाइ हिस्सा त्यस्तो ठाउँमा बसोबास गर्छन्, जहाँको पानीको स्रोत मानिसका आवश्यकता पूरा गर्न अपर्याप्त छन्।

‘पानी अभाव सबैभन्दा ठूलो संकट हो। तर यसबारे कोही बोलिरहेका छैनन्। यसको परिणाम खाद्य असुरक्षा, द्वन्द्व, विस्थापन र वित्तीय अस्थिरता वृद्धि हुन्छ,’ वर्ल्ड रिसर्च इन्स्टिच्युटका प्रमुख एन्ड्र्यु स्टिरले भनेका छन्।

शर्माका अनुसार भारतमा सहरी योजना र विकास निर्माणका कार्य बढ्नेछन्। उनले भनिन्, ‘पानीको प्रणाली प्रभावकारी बनाउनुपर्छ। सिँचाइ प्रणाली अझै प्रभावकारी बनाउनुपर्छ। यसो गरेमा मात्र हामी अगाडि आउने संकट सामना गर्न सक्षम हुनेछौँ।’

औद्योगिक क्रान्ति सुरुआतको तुलनामा विश्वको तापमान १.१ डिग्री बढेको छ। वर्तमान परिदृश्यलाई नियाल्ने हो भने आउँदो दशकमा कार्बनडाइअक्साइडको उत्सर्जन प्रत्येक जर्ष ७.६ प्रतिशतका दरले घटाउनु आवश्यक छ। त्यसका लागि विकसित र औद्योगिक मुलुकले नै कदम चाल्नुपर्छ।

सीएनएन

प्रतिक्रिया दिनुहोस्