काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली अब सातै प्रदेशमा परिचालन भएको छ।
अपराध अनुसन्धानमा सहज हुने अपेक्षाका साथ सात वटै प्रदेशमा सीआइबी परिचालन गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआइजी निरजबहादुर शाहीले भने संघीय प्रहरी इकाइअन्तर्गत रहने गरी सीआइबीको टोली सातै प्रदेशमा परिचालित भइसकेको छ। उनका अनुसार प्रदेशमा सीआईबीको टोली एसएसपीको नेतृत्वमा रहनेछ। यसका लागि सातै प्रदेशमा दरबन्दीसमेत स्वीकृत भइसकेको छ।
यसअघि सीआईबी उपत्यकामै सीमित थियो।
सीआईबीले गम्भीर प्रकृतिका अपराध, राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा सक्रिय संगठित अपराध, मानव बेचबिखन लगायत अतिसंवेदनशील घटनाको अनुसन्धान गर्दै आएको छ।
सीआईबीले सातै प्रदेशमा खटिने प्रहरीलाई विशेष तालिम दिइ पठाइसकेको छ । पहिलो चरणमा खटिएको सीआईबी टोलीको नेतृत्व प्रहरी निरीक्षक तथा सहायक प्रहरी निरीक्षकले गर्ने छन् ।
गम्भीर अपराध अनुसन्धानमा विशेष अनुसन्धान अधिकृत आवश्यक पर्ने देखिएमा सीआईबीले केन्द्रबाट विशेष टोली पठाउने गरी सातै प्रदेशमा सिआइबी टोली परिचालन भइसकेको डीआईजी शाहीले बताए।
प्रदेशमा खटिएका सीआइबी टोलीको काम, कर्तव्य, अधिकार लगायतका विषयका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो नियमावली २०७६ स्वीकृतिका लागि गृह मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पेश भइसकेको छ।
मन्त्रीपरिषद्मा पेश भएको प्रस्तावमा प्रदेशमा सीआईबीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी)ले गर्ने उल्लेख छ। अनुसन्धानमा खटिनुअघि सीआईबी टोलीले केन्द्रीय अनुसन्धान ब्युरो वा प्रहरी मुख्यालयको अनुमति लिनुपर्नेछ।
सातै प्रदेशमा सीआईबी खटाएपछि अपराध अनुसन्धान थप मजवुत हुने प्रहरीको अपेक्षा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४