काठमाडौं- नेपालका निजी मेडिकल कलेजहरुले तीन वर्षको अवधीमा विद्यार्थीहरुबाट तीन अर्ब रुपैयाँ ठगी गरेको खुलासा भएको छ ।
सरकारले नै गठन गरेको छानबिन समितिले निजी मेडिकल कलेजहरुको ठगीबारे खुलासा गरेको हो ।
समितिले सन् २०१५ देखि २०१८ सम्म भर्ना भएका विद्यार्थी संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।
समितिको अध्ययन अनुसार सबैजसो मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट करोड बढि रकम अबैध रुपमा असुलेका छन् । उनीहरु विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको भेटिएको छ ।
६ महिना लगाएर सरकारी छानविन समितिले गरेको अध्ययनअनुसार विद्यार्थी ठग्ने मेडिकल कलेजहरुमा गण्डकी मेडिकल कलेज एक नम्बरमा परेको छ । उसले ४३ करोड ५ लाख रुपैयाँ विद्यार्थीबाट ठगेको छ ।
यस्तै नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख विद्यार्थीबाट अतिरिक्त रकम असुलेको पाइएको छ ।
त्यस्तै नेसनल मेडिकल कलेजले ३२ करोड ३५ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, विराट मेडिकल कलेजले १९ लाख ९ करोड रुपैया ठगी गरेको सरकारी छानविन प्रतिवेदनले देखाएको छ।
यस्तै कलेज आफ मेडिकल साइन्सेसले १० करोड ६१ लाख, मणिपाल मेडिकल कलेजले १० करोड ९ लाख, किस्ट मेडिकल कलेजले ५ करोड ९९ लाख, देवदह मेडिकल कलेजले ३ करोड ९० लाख रुपैयाँ ठगेको छ ।
छानविन प्रतिवेदनमा जनाइएअनुसार चितवन मेडिक कलेजले विवरण दिन अटेर गरेको छ । तर, उसले गरेको ठगी पनि अन्य मेडिकल कलेज सरह नै रहेको जनाइएको छ । प्रतिवेदनमा भनिए अनुसार जानकी मेडिकल कलेजले ठगी नै गरेको छैन् । नेपाल मेडिकल कलेजमा समितिले छानविन नै गरेको थिएन ।
यसरी मेडिकल कलेजहरुले असुलेको यो रकम स्वदेशी विद्यार्थीको मात्रै हो । विदेशी विद्यार्थीहरुसँग अबैध रुपमा असुलिएको रकम जोड्दा झन धेरै हुने समितिको अनुमान छ ।
सरकारले मेडिकल कजेलमा भएको अबैध असुलीका विषमा छानबिन गर्न ६ महिना अगाडी राष्ट्रिय सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले सन् २०१५ देखि १८ सम्म भर्ना भएका विद्यार्थी संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।
समितिले तयार पारेको यो प्रतिवेदन अझै प्रधानमन्त्रीलाई बुझाउन पाएको छैन् । सतर्कता केन्द्रको सचिव हेरफेर भइराखेका कारणले प्रतिवेदन बुझाउन नपाएको समितिका एक सदस्यले जानकारी दिए । समितिले ढेड महिना अघि नै प्रतिवेदन तयार पारेको थियो ।
बढि असुलेको रकम फिर्ता नगरे मेडिकल कलेजलाई ठगी मुद्दा
विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता नगरे सरकारले निजी मेडिकल कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने भएको छ ।
गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने नमाने ठगी मुद्दा चलाउने निर्णय भएको हो ।
गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
चितवन मेडिकल कलेजले विद्यार्थीसँग सहमति गरेको एकमहिना भित्र शुल्क फिर्ता गर्नुपर्नेछ । गण्डकी मेडिकल कलेजले शिक्षा मन्त्रालयमा गरेको सहमति नाघि सकेकोले तत्काल बढी लिएको रकम फिर्ता गुर्नपर्ने निर्णय भएको हो।
अन्य मेडिकल कलेजहरुको हकमा भने विश्वविद्यालयहरुलाई अन्तिम पटक सचेत गराउन निर्देशन दिइएको छ। सचेत गराएको एक महिना भित्र रकम फिर्ता नगरे मेडिकल कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत कारवाही प्रक्रिया अघि बढाउन लागिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४