काठमाडौं– सरकारले मेडिकल कलेजले विद्यार्थीहरुसँग लिएको बढी शुल्क एक महिनामा फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमबार गृहमन्त्रालयमा भएको छलफलमा मेडिकल कलेजहरुले विद्यार्थीसँग विभिन्न बहानामा तोकिएको शुल्कभन्दा बढी असुलेको रकम फिर्ता गर्ने सहमति भएको थियो ।
गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजल लिइरहेको चर्को शुल्कविरुद्ध विद्यार्थीहरु लामो समयदेखि आन्दोलित बनेपछि यस्तो निर्णय भएको भएको हो ।
मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा झन्डै ५० प्रतिशत बढी रकम असुल गरिरहेका थिए ।
गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको छलफलमा गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी लगायतको सहभागिता थियो ।
सरकारले एमबीबीएस अध्यनका लागि उपत्यका भित्रका मेडिकल कलेजले रु ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले रु ४२ लाख ५० हजार शुल्क तोकेको छ ।
मेडिकल शिक्षामा माफिया हावी भएको र चर्को शुल्क लिइरहेको भन्दै विद्यार्थीहरु करिब एक वर्षदेखि आन्दोलनमा थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४