मंगलबार, चैत १८, २०७६

विचार
जितेर पनि हारेका दलहरू

डा. नारायण चालिसे कुनै बेला नेपाल विद्यार्थी संघका जल्दाबल्दा नेता थिए। अध्ययनरत छँदा प्रजातन्त्र ल्याउने र विकासको फल चाख्ने लोभले कैयौंपटक प्रहरी हिरासतमा पुगे। अध्ययनमा प्रखर उनले स्नातकोत्तरपछि विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा विद्यावारिधि गरे। अहिले विश्वविद्यालयमा प्राध्यापनरत छन्।

एक दिन चियागफमा उनले भने– ‘फलानो पञ्च र्‍यालीमा सहभागी भएको थियो, अहिले नेकपाको सरकारले ठूलै नियुक्ति दिएको छ। कुन विश्वविद्यालयमा को उपकुलपति बनाउने भन्नेसम्मको हैसियत उसको छ। फलानो त मण्डलेको संगठन नै गर्थ्यो, उसैलाई क्याम्पस प्रमुख बनाइएको छ, विश्वविद्यालयको सभासद् पनि।’

उनले इंगित गरेका यी दुवै संयोगले नेकपाका परे । तर, कांग्रेस र कांग्रेसीको पनि हविगत यही छ। जेलनेल भोगेका चालिसेहरू त्यत्तिकै छन्।

डा. चालिसेको भनाइ लोकतन्त्र र लोकतन्त्रवादीका क्रियाकलापप्रतिको असन्तुष्टि हो। कांग्रेसले उनलाई आजसम्म केही दिएको छैन र पनि कांग्रेसलाई भोट हाल्न छाडेका छैनन्, भविष्यमा पनि छाड्दैनन्। तैपनि उनी भन्दैछन्– ‘म आजको हैसियतमा पुगेको, बोल्न जान्ने भएको त्यही विद्यार्थी राजनीतिले गर्दा त हो नि। मैले मेरा लागि कांग्रेसको पुरस्कार यही नै ठानेको छु। म सन्तुष्ट छु। मेरो जत्ति हैसियत नभएका कति साथी छन्, तिनलाई हेरे पुग्थ्यो।’

कांग्रेस र नेकपामा यस्ता शुभेच्छुक हजारौँ छन्। तिनैका बलले आजसम्म चुनाव जित्दै आइरहेका छन्। यी दलका नेतामा आफ्नै कारण र भूमिकाले जितेको भ्रम होला । विजयको कारण इमानदार कार्यकर्ताहरुको बलीदानी मात्र हो। दलका नेता वरिपरि त त्यस्तै झुण्ड छन्, जोसँग मनी र मसल छ। त्यो झुण्ड माथि उदाहरणमा दिइएका पञ्चहरु अहिले लोकतन्त्रवादीको खोल ओढ्न आएजस्तै जसको शक्ति उसैको भक्ति गर्न आतुर हुन्छ।

कम्युनिज्मको नारा लगाउँदै लोकतान्त्रिक संविधान र व्यवस्थाअन्तर्गत करिबकरिब दुई तिहाइको बहुमतका साथ सरकार गठन गर्न सक्नु नेकपाको ठूलो विजय हो। विश्वभरकै कम्युनिस्टका लागि यो गर्वको विषय बनेको छ। तथापि दुई वर्ष नबित्दै नेकपाप्रतिको आम असन्तुष्टि बढ्दो छ, अरूका कारणले नभई उसकै कारणले।

कसरी त ? दुई तिहाइको सरकारका क्रियाकलापहरु पूर्णतः देश र जनता केन्द्रित हुनुपर्ने हो। केही उज्याला संकेत दिन सक्नुपर्ने हो। तर, भाषणबाजी बाहेक यो सरकारले जनतालाई कतैबाट पनि आशाको त्यान्द्रो देखाउन सकेन।

त्यसकै परिणाम हुनुपर्छ, चितवनमा विगतमा आफैंले जितेका वडाहरु सबका सब मंसिर १४ को निर्वाचनमा नेकपाले गुमाउन पुग्यो।  आजसम्म कांग्रेसले नजितेको धरानको मेयरमा पनि नेकपाले नराम्रो पराजय बेहोर्‍यो। चुनावपछि त्यहाँको निर्वाचन समितिले हारको कारण सरकारले जनतामाथि थोपरेको अनावश्यक कर हो भनी निर्क्यौल गर्दै विज्ञप्तिसमेत निकालेको थियो।

कुनै व्यापारीलाई लिज अवधि बाँकी छँदै सरकार अर्को ३० वर्षका लागि कौडीको भाउमा सरकारी जग्गा भोगचलन गर्ने अधिकार दिन्छ भने जनताले यो सरकारसँग के आशा गर्ने ? विश्वविद्यालयमा पदाधिकारी रिक्त भएको ५ महिना बित्न लाग्दासमेत नियुक्ति गर्न नसक्ने सरकारलाई उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले कसरी लिने ?

महिला, दलित, आदिवासी लगायतका सबै तह र तप्काका जनताको सुरक्षा, उन्नति र प्रगतिको कामना गर्दै संविधानले गठन गरेका संवैधानिक आयोग सबै रिक्त छन्। तिनमा पदाधिकारी नियुक्ति गर्ने कुनै सुरसार देखिँदैन। बरु नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गरी प्रहरी तालिम केन्द्र निर्माणका क्रममा नेपालसँग रहेको अधिकार भारतलाई नै सुम्पन हतार देखिन्छ सरकार, अनि नाकाबन्दीका बेला वर्तमान प्रधानमन्त्री केपी ओलीको हुंकारलाई कसरी मापन गर्ने जनताले ?

यो सरकारप्रतिको असन्तुष्टि नेकपाकै नेता तथा कार्यकर्तामा धेरै छ। प्रतिपक्षी कांग्रेस आफ्नै आन्तरिक विवादमा  छ। नेकपा स्थायी समिति बैठकमा नेताहरुले सरकारले जनताको काम गर्न नसकेको भने। उनीहरुकै बीचमा चर्काचर्की भयो।

कांग्रेसको अवस्था पनि त्यस्तै छ। पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न नसक्नु ठूलो कमजोरी भएको छ।

त्यसैले वर्तमान सरकारका क्रियाकलाप विरुद्ध ऊ मौनप्रायः छ। कांग्रेस सरकारमा हुँदो हो र त्यो सरकार जनताप्रति यति निरपेक्ष हुँदो हो त नेकपाले अहिलेसम्म टुँडीखेलका रेलिङदेखि संसद्का कुर्सीसम्म कति भाँचिसकेको हुन्थ्यो होला। सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संविधानमा गरिएको व्यवस्थाविपरीत नेकपाले नै दुवै पद लिँदासमेत संसद् चलिरह्यो।

नेकपाको रिसले सरकारी सम्पत्ति स्वाहा पार्ने आन्दोलन निश्चय नै गर्नु हुँदैन तर भद्रताका नाममा एउटा विज्ञप्ति निकाल्ने कामले मात्र प्रमुख प्रतिपक्षीको भूमिका सम्पन्न गरेको जनताले मान्दैनन्।

बाटो बिराएको सरकारलाई सही बाटो देखाउन नसकेसम्म कांग्रेसले जे जति जित हासिल गरेको छ, त्यो सबैको कुनै अर्थ रहँदैन।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै पार्टी त मिलाउन सकेनन् भने अरु के गर्लान् भन्न थालिसकेका छन् जनताले। वरिष्ठ नेता रामचन्द्र पौडेलले त कोइरालाको हातबाट आफ्नो हातमा नेतृत्व ल्याउन देउवाले जे जे गरे त्यही गर्दैछन्। भागबन्डा होइन, सबैको सम्मान गर्छु भनेर नेतृत्वमा आएका देउवाले कार्यरूपमा आफैंलाई उतार्न सकेनन् भने सभापति हुनुको अर्थ के हुन्छ र?

जुनसुकै अवस्थामा पनि जनताले विश्वास गरेका यी दुई दलले बाटो बिराउने सुविधा कुनै हालतमा पनि पाउँदैनन्। यिनै दलको आह्वानमा सयौँ सहिदले ज्यानको आहूति दिए, हजारौं जनताले रगत बगाए, थुप्रै अङ्गभङ्ग भएका छन्। लोकतान्त्रिक व्यवस्था आउनु सबैको जित भएको छ भने यसको संरक्षण–संवर्द्धन सोचेअनुरुप हुन नसक्नु सत्तामा रहने र त्यसलाई मलजल गर्नु पर्नेको हार हुँदै गएको छ।

सच्चा कार्यकर्ता नेताहरुको दैलो धाउँदैन, नेताले नै खोज्न सक्नुपर्छ। हारलाई जितमा परिणत गर्न हृदयतः लोकतन्त्रवादीको पहिचान गर्न सक्नुपर्छ। अब ज्ञानेन्द्र शाहलाई दोष दिएर कोही चोखो रहन सक्दै–सक्दैन।

प्रतिक्रिया दिनुहोस्