इटहरी- भारतका स्थापित पर्यटन व्यवसायी मनोज सराफले नेपालमा हिमालयन कार र्याली आयोजना गर्न सुझाएका छन्।
धरानमा शनिबार तीन दिने इस्ट टुरिजम मार्टको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा हिमालयन कार र्यालीका लागि आवश्यक पूर्वाधारसमेत भएको बताए।
भारतको पश्चिम बंगाल राज्यको चर्चित गेनवेल लिजर होलिडेका प्रबन्ध निर्देशक उनले हिमालयन कार र्याली नेपालको मौलिक ब्रान्ड बन्न सक्ने बताए। यसका लागि सामान्य बजेटमा झोला भिरेर आउने पर्यटकभन्दा तारे होटलमा बस्ने ‘हाइ इन्ड’ पर्यटकलाई फोकस गरी प्याकेज बनाउनुपर्ने उनको भनाइ छ।
नेपालका हिमाल, पहाड र तराईका सडकमा कार र्याली गर्न सकिने उनले बताए। विश्वभरका कार चालकलाई बोलाएर र्याली आयोजना गरे यसबाट पर्यटक भित्र्याउन सकिने र ‘नेपाल भ्रमण वर्ष २०२०’ को लक्ष्य पूरा गर्न सहयोगी हुने उनको भनाइ छ। उनले भने, “हिमालयन कार र्यालीमा विश्वभरका कार चालक आएर मनोरन्जन गर्न सक्छन्।”
उनले कार र्याली आयोजना गर्नका लागि कलकला मोटर स्पोर्ट्स क्लब र आफूले पनि सहयोग गर्ने बताए।
भारतको आन्तरिक पर्यटनको मुख्य हिस्सा धार्मिक पर्यटनले ओगटेको बताउँदै उनले नेपालमा पनि यसको सम्भावना रहेको उल्लेख गरे। “नेपालमा भारतबाट धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । यसका लागि राम्रो योजना आवश्यक छ,” उनले भने।
स्तरीय सडक, विमानस्थल र होटल बनाउन सके पश्चिम बंगालबाट अत्यधिक पर्यटक नेपाल आउन सक्ने उनको भनाइ छ।
पछिल्लो समय नेपालमा हवाइ प्याकेज नहुँदा कलकत्ताबाट आउने पर्यटक घटेको उनले बताए। उनले भने, ‘हवाइ सम्पर्क कम भएपछि ट्राभल प्याकेज पनि हराए । अब त्यो रिभाइभ गर्नुपर्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४