काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन्।
कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री वीरबहादुर बलायरले सरकारले संविधानको सही कार्यान्वयन गर्नुपर्ने बेला कम्युनिष्ट शासनको अभ्यास गरेको बताएका हुन्।
नेपाली कांग्रेस डोटी–काठमाडौं सम्पर्क समितिले विभिन्न चाड पर्वहरुको अवसर पारेर शनिबार आयोजना गरेको चियापान समारोहमा पूर्व मन्त्री बलयारले संविधानको प्रतिकुल हुने गरी सरकार अघि बढ्न खोजेको भन्दै अब नेपाली कांग्रेस जाग्नु पर्ने बेला आएको बताए।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व मन्त्री भक्तबहादुर बलायरले कम्युनिष्टहरुले चिनियाँ कम्युनिष्ट नेताहरु ल्याएर पार्टी प्रशिक्षणको आयोजना गर्न लागेको भन्दै आलोचना गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेका नेता भरत खड्काले सुदूरपश्चिमको राजधानी दीपायल बनाउने पर्नेमा आफ्नो जोड रहेको बताए।
कांग्रेस डोटी-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा डोटीबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा रहेका शुभेच्छुकहरुलाई पार्टीको सदस्यता वितरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४