काठमाडौं- चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहनको मुद्दामा एक जनालाई ६ महिना कैद फैसला सुनाएको छ।
२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका–२ मा एक युवतीले आत्महत्या गरेकी थिइन्। छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै आमा दुर्गादेवी थापा बस्नेतले छोरीका श्रीमानविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।
मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत् भएका कुरालाई प्रमाणको रुपमा लिएको छ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कैद र अन्य तीन आरोपीलाई सफाइ दिएको छ। मुद्दा परेको ६ महिनापछि अदालतले यस मुद्दाको टुङ्गो लगाएको हो।
घटनामा मृतकले कुनै सुसाइट नोटसमेत नबनाएको अदालतले जनाएको छ। २०७५ असारमा सन्जोग गिरी र विविता बस्नेतको भागी विवाह भएको थियो। बिहेपछि भदौमा सन्जोग रोजगारीका लागि दुबई गएका थिए।
विदेशमा रहेका श्रीमान् र विविताबीचको फोनको झगडा हुने गरेको थियो। त्यही क्रममा विविताले गत फागुन १३ गते घरमा झुन्डिएर आत्महत्या गरिन्।
अनुसन्धानको क्रममा श्रीमान–श्रीमतीबीच भएको भिडियो र सन्देश आदानप्रदान प्रमाणका रुपमा लिइएको छ। भिडियोमा एक अर्काबीच भएको विवादका कारण नै विविताले आत्महत्या गरेको ठहर गरिएको छ।
आत्महत्याका लागि प्रेरित गरेको मुख्य आरोपित रहेका सन्जोग गिरीविरुद्घ ६ महिना कैद, १ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिवाना गराउने फैसला भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४