सप्तरी– सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ६ का ७८ वर्षीय बहादुर सदा वडा अध्यक्ष भएको चार वर्ष भयो। वडा अध्यक्ष भएपछि जिम्मेवारी थपियो, तर उनको जीवनशैली फेरिएन। पहिले घरको समस्या टार्दा समय बित्ने गर्थ्यो, तर घरसँगै वडाको जिम्मेवारीले गर्दा उनको दिनचर्या तनावमा बित्न थालेको छ। उनलाई पहिले आठ घण्टा काम गर्नु पर्थ्यो। उनी राति आनन्दले सुत्थे। अहिले सुत्ने समयमा पनि कति दिन निद्रा लाग्दैन। उनी भन्छन्, ‘वडाको जिम्मेवारी काँधमा आएकाले त्यस्तो भएको हो।’
विपक्षीले जहिले पनि कहाँ गल्ती हुन्छ, विरोध गरौं भन्ने दाउ खोजेर बसेको हुने उनको अनुभव छ। एकदमै सावधानीले सबै पक्षलाई समेटेर काम गर्नुपर्दा बढी तनाव हुने वडा अध्यक्ष सदा बताउँछन्। १० वर्षको उमेरदेखि मजदुरी गर्दै आएका सदा वडा अध्यक्षमा निर्वाचित भएपछि पनि उनको रहनसहन र जीवनशैली उस्तै रहेको स्थानीय ७० वर्षीया नेपु देवी सदाले बताइन्।
‘पहिले पनि वडा अध्यक्ष घरको बरण्डामा बाँसले बनाइएको खाटमा सुत्यो, पहिले आर्थिक अभावका कारण खाट किन्न नसकेर होला भन्थें। तर अहिले पनि उस्तै छ’, उनले भनिन्।
उनी पहिलेजस्तै साधारण खाना खान्छन्। पहिले फुसको घरको बरण्डामा बसे पनि अहिले इँट्टा र टिनबाट बनाएको घरमा बस्ने गरेका छन्। ‘यो पनि घर र जग्गा विदेश गएको जेठो छोराले किनेर बनाएको हो’, स्थानीय ६५ वर्षीया भुलु सदाले भनिन्। वडा अध्यक्ष सदाको घरमा तीनवटा कोठा भए पनि एउटा कोठामा मात्र खाट छ। छोराबुहारी र सानो नाति खाटमा सुत्छन्। नातिहरू भुइँमै ओछ्यान लगाए सुत्दै आएको भुलुको भनाइ छ।
विपन्न परिवारमा जन्मेका सदाको सानैदेखि गरिबीमा जीवन बित्दै आएको छ। १० वर्षको उमेरदेखि अर्काको घरमा काम गर्न बसेका सदाको १४ वर्षको उमेरमा विवाह भएको थियो। विवाहपछि जिम्मेवारी बढेलगत्तै उनले दैनिक ज्यालादारीमा काम गर्न सुरु गरे। उनले भने, ‘२५ वर्षको उमेरमा दुई छोरी र चार छोरासहित ६ जना छोराछोरीको बाबु बनिसकेको थिएँ।’
तलबबाहेक कुनै कमिसन नलिएकै कारण जीवनशैली नफेरिएको स्थानीय ४० वर्षीया अनिता सदाले बताइन्। उनी भन्छिन्, ‘यही जिल्लाका अरु वडाअध्यक्षले दुई पुस्तालाई खान पुग्ने सम्पती जोडिसके, जीवनशैली फेरिसके, हाम्रो वडा अध्यक्ष इमानका नमुना हुन्।’
एक्लैको कमाइमा श्रीमती, आमाबाबु, ६ सन्तान गरी १० जना परिवारको जीविकोपार्जन गर्न एकदमै कठिनाइ भएको अनुभव सदाको छ। कति दिन खान पुग्थ्यो, कतिदिन भोकभोकै सुत्नुपर्दथ्यो। उनले थपे, ‘पहिले परिवारको मात्र जिम्मेवारी थियो। अहिले वडाको जिम्मेवारी काँधमा थपिएपछि चिन्ता बढ्नु स्वाभाविक हो।’
२०५४ सालको स्थानीय तहको चुनाव नजिकिएका बेला उनले काम गर्दै गरेको घरको घरमूलीको प्रेरणाले स्वतन्त्रबाट सदस्य पदमा होमिएका सदा विजय हासिल गर्न सफल भएका थिए। उनले भने, ‘समाजसेवा गर्ने चाहना पहिलेदेखि नै थियो । तर, गरिबीका कारण सम्भव थिएन। छोरा विदेश गएर कमाउन थालेपछि चुनाव लड्न सम्भव भएको हो।’
वडा सदस्य भएपछि हस्ताक्षर गर्न सिके र समाज सेवामा निष्पक्ष रूपमा लागिरहे। उनले वडामा नागरिकता, जन्मदर्ता नबनाएकालाई यसको महत्त्वको विषयमा जानकारी गराएर आवश्यक प्रक्रिया पूरा गरी आफूसँगै गएर नागरिकता बनाइदिने, उमेर पुगेकालाई वृद्धा भत्ता कार्ड बनाइदिने, वृद्धा भत्ता आएपछि जानकारी दिएर वृद्धा भत्ता उठाउनसँगै गएर उठाइदिन थाले।
यस्तो सहयोगी भावनाका कारण उनी आफ्नो समुदायमा सबैको लोकप्रिय बने। उनी भन्छन्, ‘वडावासीको आग्रहमा पछिल्लो स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएर विजयी भए।
तलबबाहेक कुनै कमिसन नलिएकै कारण जीवनशैली नफेरिएको स्थानीय ४० वर्षीया अनिता सदाले बताइन्। उनी भन्छिन्, ‘यही जिल्लाका अरु वडाअध्यक्षले दुई पुस्तालाई खान पुग्ने सम्पती जोडिसके, जीवनशैली फेरिसके, हाम्रो वडा अध्यक्ष इमानका नमुना हुन्।’ न्युजकारखानाबाट