काठमाडौं - सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ। गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ।
भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए। आर्थिक वर्ष २०७३/७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो। “भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने। छ सय शैय्या रहने सो कलेज निर्माणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताए।
कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ। “एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने। सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो। कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने। प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४