बिहीबार, वैशाख १३, २०८१

नसर्ने रोगबाट ६६ प्रतिशतको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - मुलुकमा नसर्ने रोगबाट पीडितको संख्या बढी देखिएको छ। अव्यवस्थित जीवनशैली र खानपानका कारण दम, मुटुरोग, बाथ, मिर्गौला, रक्तकोषमा असामान्य वृद्धि, क्यान्सरजस्ता रोग चुनौतीका रूपमा देखापरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ। 

तथ्यांकअनुसार विगतमा यस्ता रोगबाट ५० वर्षमाथिका व्यक्ति बढी पीडित हुन्थे। अहिले युवा पुस्ता पनि पीडित हुन थालेका छन्। नेपालमा ४० वर्षभन्दा कम उमेरमै नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या उच्च आयस्रोत भएका मुलुकको तुलनामा बढी देखिएको अध्ययन प्रतिवेदनले देखाएको छ। 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वको कुल वार्षिक मृत्युमध्ये नसर्ने रोगबाट ७१ प्रतिशतको मृत्यु हुने गरेको छ। नेपालमा वार्षिक मृत्यु संख्यामध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको परिषद्को तथ्यांक छ। 

सन् २०१८ मा काठमाडौंमा थप २ हजार १ सय ५३ मा क्यान्सर देखिएको थियो। तीमध्ये ६ सय ४८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एक्सन नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा परिषद्का अधिकृत विहङ्गम विष्टले नेपालमा सबैभन्दा बढी श्वासप्रश्वास, मुटु, क्यान्सर र मधुमेहका रोगी रहेको बताए। श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्नेमा ११.७ प्रतिशत, मधुमेह लाग्नेमा ८.५ प्रतिशत, मिर्गौला रोग लाग्नेमा ६ प्रतिशत तथा मुटु रोग लाग्नेमा २.९ प्रतिशत छन्।

स्वास्थ्य सचिव खगराज बरालका अनुसार नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली हो। धूमपान र मद्यपान गर्नु, शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान यस्ता रोगका कारकतत्त्व हुन्। 

कर्णालीमा श्वासप्रश्वासका रोगी बढी

अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा श्वासप्रश्वाससम्बन्धी रोग देखिएको छ। सबैभन्दा बढी कर्णालीमा २५.१ र कम गण्डकी प्रदेशमा ६ प्रतिशतमा श्वासप्रश्वासको समस्या छ। प्रदेश १ मा ६.२, प्रदेश २ मा १६.४, प्रदेश ३ मा ११.७, प्रदेश ५ मा ९.५ र सुदूरपश्चिममा १४.३ प्रतिशतमा श्वासप्रश्वास समस्या छ। 

मधुमेह धेरै पीडित प्रदेश ३ मा

सबैभन्दा बढी मधुमेहका बिरामी प्रदेश ३ मा ११.५ प्रतिशत छन्। प्रदेश १ मा ७.७, प्रदेश २ मा ८.५, गण्डकीमा ६.७, प्रदेश ५ मा ९.६, कर्णालीमा ३.२ र सुदूरपश्चिममा ५.२ प्रतिशत बिरामी रहेको तथ्यांकमा उल्लेख छ।

गण्डकीमा मिर्गौला रोगी बढे

गण्डकी प्रदेशमा मिर्गौलाका रोगी ६.८ प्रतिशत छन्। त्यस्तै प्रदेश १ मा ५.२, प्रदेश २ मा ६.६, प्रदेश ३ मा ६.५, प्रदेश नं. ५ मा ५.७, कर्णालीमा ४.७ र सुदूरपश्चिममा ५.९ प्रतिशत बिरामी छन्। 

गण्डकी र सदूरपश्चिममा मुटुरोगी धेरै

परिषद् अध्ययनअनुसार सबैभन्दा बढी मुटुरोगी गण्डकी र सुदूरपश्चिम प्रदेशमा छन्। ती प्रदेशमा समान ३.६ प्रतिशत मुटुरोगी छन्। प्रदेश १ र ३ मा समान ३.३ प्रतिशत मुटुरोगी रहेको तथ्यांक छ भने प्रदेश २ मा २.८, प्रदेश ५ मा २.३ र सबैभन्दा कम कर्णाली प्रदेशमा ०.८ प्रतिशत मुटुरोगी छन्। 

किन बढ्दैछ नसर्ने रोग ?

नेपालमा नसर्ने रोग बढ्दै जानुमा निष्क्रिय जीवनशैली, खानपान, धूमपान, मद्यपान प्रमुख कारक रहेको चिकित्सक बताउँछन्। बढ्दो सहरीकरणसँगै व्यायाम गर्ने स्थान र हिँड्ने सडक अभाव हुनु, प्रदूषण नियन्त्रणमा ध्यान नदिँदा नसर्ने रोगका बिरामी बढेको वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले बताए। विश्व स्वास्थ्य संगठनका अनुसार यी कारक तत्त्वलाई न्यूनीकरण गर्न सकेमा झन्डै ८० प्रतिशत रोगको भार कम गर्न सकिन्छ। 

रोग पहिचानमा ढिलाइ हुनु, पहिचान भए पनि उपचारमा सहज पहुँच नहुनुले नसर्ने रोग बढेको चिकित्सकको भनाइ छ।

यस्ता छन् रोकथामका उपाय :

-धूमपान–मद्यपान नगर्ने
-प्रदूषणबाट टाढा रहने
-सुर्तीजन्य पदार्थ सेवन नगर्ने 
-दैनिक आधा घन्टा व्यायाम गर्ने 
-दैनिक ५ ग्रामभन्दा कम नुन खाने
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्