काठमाडौं- उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका छन्। वाङको भ्रमणलाई राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका रूपमा लिइएको छ।
२०६८ पुस ३० गते तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिआबाओले नेपाल आएयता चीनबाट उच्चस्तरीय भ्रमण भएको छैन। नेपालले राष्ट्रपति सीलाई विगत पाँच वर्षअघि नै निम्ता गरे पनि भ्रमण गराउन सफल भएको छैन।
यसपटक चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणले चीनबाट उच्चस्तरीय भ्रमण हुने विश्वास गरिएको छ।
राष्ट्रपति सी कात्तिकमा नेपाल आउने बताइएको छ। तर यसलाई परराष्ट्र मन्त्रालयले औपचारिक पुष्टि गरेको छैन। नेपालले कम्तीमा दुई दिनका लागि राष्ट्रपति सीले भ्रमण गर्नुपर्ने अडान राख्दै आएको छ।
तर चिनियाँ पक्षले भने नेपालमा राष्ट्रपति सीका लागि सुरक्षा व्यवस्था प्रभावकारी हुन नसक्ने भन्दै उनी केही घन्टाका लागि मात्र नेपालमा रहने बताउँदै आएको छ।
विदेशमन्त्री वाङ र नेपाली उच्च अधिकारीबीच राष्ट्रपति सीको भ्रमणको तयारीका बारेमा छलफल हुने बताइएको छ।
विदेशमन्त्री वाङका साथ चिनियाँ उपविदेशमन्त्री लुओ झाओहुईलगायतका १९ अधिकारी नेपाल आएका छन्।
चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्री यीको भ्रमणले दुई देशबीच यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिने जनाएको छ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री ज्ञवाली लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
मन्त्रीस्तरीय हुने भेटवार्तामा भूकम्प पुनर्निर्माणमा चिनियाँ पक्षबाट भएको सहयोग कार्यान्वयन, नाका क्षेत्रमा अध्यागमन कार्यालय स्थापना लगायतका विषयमा छलफल हुने अधिकारीहरूले बताएका छन्।
दोस्रोपटक केपी ओली प्रधानमन्त्री बनेयता नेपाल भ्रमणमा आउन लागका उनी वरिष्ठ चिनियाँ अधिकारी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४