भारत – चन्द्रयान–२ को विक्रम ल्यान्डरको सम्पर्क टुटेको छ। चन्द्रमामा अवतरण हुन मात्र केही समय अघि सम्पर्क टुटेको हो।
ल्यान्डर योजना अनुरुप नै चन्द्रमाको सतहमा उत्रिरहेको थियो। सतहभन्दा २ दशमलव १ किलोमिटरसम्म सबै कुरा ठिक नै थियो। तर, त्यसपछि भने उसँगको सम्पर्क एक्कसी टुट्न पुग्यो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अधयक्ष के सिवनले बताए। यसबारे अनुसन्धान थालिएको उनले बताए।
विक्रम ल्यान्डर भारतीय समयअनुसार राति साढे १ देखि साढे २ बजेसम्म चन्द्रमाको सतहमा उत्रने अनुमान गरिएको थियो। सबै कुरा ठिकठाक नै चलिरहेपनि अन्तिम समयमा सम्पर्क टुटेपछि वैज्ञानिक केही निराश देखिन्थे।
भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरुको हौसला बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत ब्याङ्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए। जब इसरोका अध्यक्ष निराश हुँदै मोदी भएको ठाउँ पुगे र यसबारे जानकारी दिए तब मोदी वैज्ञानिकको बीच गई निराश नहुन आग्रह गर्दै हौसला दिन थाले ।
उनले जीवनमा उतार चढाव आइराख्ने भन्दै यो ठुलो उपलब्धि भएकाले निराश नहुन आग्रह गरे। उनले भने, 'जीवनमा उतार चढाव आइराख्छ। तपाईहरु निराश नहुनस्। यो सानो उपलब्धि होइन। देशले तपाईहरुमाथि गर्व गरेको छ। तपाईहरुको मेहनतले धेरै कुरा सिकाएको छ। हाम्रो अभियान जारी रहनेछ। म सधैं तपाईहरुको साथमा छुँ।'
चन्द्रयान २ का लागि दक्षिणी ध्रुवलाई छनोट गरिएको थियो। विक्रम ल्यान्डरलाई चन्द्रमाको कक्षमा रहेको आर्बिटरबाट पहिले अलग गर्नुपर्ने थियो र त्यसपछि विस्तारै चन्द्रमाको सतहमका ल्याउनुपर्ने थियो। ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर थियो जसलाई ल्यान्डरले सुरक्षित अवतरण गराई वाहिर निकाल्नुपर्ने थियो। प्रज्ञान रोवरले चन्द्रमाको सतहमा भ्रमण गरि वैज्ञानिक खोजलाई सहयोग गर्नु थियो। तर, ल्यान्डरको सम्पर्क नै विच्छेद भएपछि वैजानिक निराश बनेका छन्।
चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत विश्वकै पहिलो देश हो। हालसम्म पठाइएका धेरै जसो यान चन्द्रमाको भूमध्ये रेखाको आसपासको क्षेत्रमा मात्रै पठाइएको छ। यदी यो मिशन सफल भएको भए चन्द्रमामा यानको सफल अवतरण गराउने भारत विश्वकै चौथो मुलुक बन्ने थियो। यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा सफलताका साथ यान अवतरण गराइसकेका छन्।
तर वैज्ञानिकले अझैसम्म पुरै आशा भने मारिसकेका छैनन्। उनीहरुले अझै पनि ल्यान्डरसँग सम्पर्क स्थापित हुने आशा राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४