बाँके- सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
प्रहरीका अनुसार सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिमा रहँदा ५२ करोड रूपैयाँ अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । अहिले दुवै जना फरार रहेको र उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
पाठक सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा थिए ।
सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले दुवै अध्यक्षविरुद्ध रकम अपचलनको अभियोग लागे पनि के-कति रकम अपचलन भयो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने बताए ।
सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाइ मुख्य आरोपी अरूणकुमार बर्मासहित गंगाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायत अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्तालाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन आह्वान गरेको छ ।
सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ परेपछि र केही फरार भएपछि अहिले सहकारी बन्द अवस्थामा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४