बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन् ।
हाउस अफ कमन्समा बुधबार आमनिर्वाचन गराउने प्रस्तावबारे भएको मतदानको पक्षमा आवश्यक दुईतिहाई मत परेन। प्रस्तावको पक्षमा २९८ र विपक्षमा ५६ मत खसेको थियो। प्रस्ताव पास गर्न ४३४ मत आवश्यक थियो। सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि प्रधानमन्त्रीले अक्टुवर १५ मा आमनिर्वाचनको प्रस्ताव पेश गरेका थिए।
हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले सन्दिग्ध अपराधी चीनलाई सुपुर्दगी गरिने विवादास्पद विधेयक फिर्ता लिइएको घोषणा गरेकी छन्। बिहीबार हङकङमा पत्रकार सम्मेलन आयोजना गरी ल्यामले विधेयक फिर्ता लिएको र यो निर्णयमा चीन सरकारको पनि समर्थन रहेको दाबी गरेकी छन्। पत्रकार सम्मेलनमा उनले भनिन्, “चिनियाँ सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ताको कुरा बुझेको छ, यो निर्णयको सम्मान र समर्थन गर्छ।”
चीन-अमेरिका व्यापारिक संघर्ष चर्किरहेका बेला १३ औं चरणको वार्ता आगामी अक्टोबरको सुरुतिर अमेरिकाको वासिंगटनमा हुने भएको छ। गत जुलाईको अन्त्यतिर चीनको सांघाईमा भएको १२ औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन्।
नेपाल-भारतका प्रबुद्ध वर्गहरुका दुई सदस्य, भारतका भगतसिंह कोसियारी र नेपालका निलाम्बर आचार्यबीच दिल्लीस्थित महाराष्ट्र भवनमा भेट भएको छ। कोसियारी राज्यपाल नियुक्त भएका हुन् भने आचार्य भारतका लागि नेपाली राजदूत। ईपीजी प्रतिवेदनका सम्बन्धमा थप अन्योल प्रकट भइरहेका बेला राजदूत आचार्य र कोसियारीबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिन्द महासागरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा बोल्दै भारतले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्नु उसको नितान्त आन्तरिक मामिला भएको जनाएका छन्।
भारतको पञ्जाबमा एउटा पटका कारखानामा विस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। उक्त घटनामा थप २० जना गम्भीर घाइते भएको अधिकारीहरुले जनाएका छन।
अफ्गानिस्तानको शास दराक क्षेत्रमा आज भएको एक विस्फोटमा दर्जन बढीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। स्थानीय समयानुसार बिहीबार बिहान १०:१० बजे सो दुर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौं व्यक्ति घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयोगका आयुक्त मिशेल ब्याच्लेटले मानव अधिकारका क्षेत्रमा भएका संकटापन्न स्थितीलाई तत्कालै सम्बोधन गर्ने गरि एकजुट हुन सम्पूर्ण मुलुकहरुलाई आव्हान गरेकी छन्।
ईरानले आफुले पक्राउ गरेका बेलायती ध्वजावहाक ट्यांकर ‘स्टेना इम्पेरो’का सात सदस्यलाई रिहा गर्ने जनाएको छ। तेहरानले नियन्त्रणमा लिएका बेलायती ट्यांकरका सात सदस्यलाई रिहा गर्ने कुरा प्रष्ट नभए पनि सो ट्यांकरका मालिकले भने तेहरानबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्।
वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन्। बिहीबार मध्यपूर्व मामिला हेर्ने उपमन्त्री ड्याभिड स्केनकरले यमनी विद्रोहीसँग युद्ध अन्त्यका लागि वार्ता गरिरहेको बताए। यमनमा जारी युद्ध अन्त्यका लागि वार्तामा अत्यन्त निकटमा रहेर छलफल भइरहेको उनले दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४