हङकङ– हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले सन्दिग्ध अपराधी चीनलाई सुपुर्द गरिने विवादास्पद विधेयक फिर्ता लिइएको घोषणा गरेकी छन् ।
बिहीबार हङकङमा पत्रकार सम्मेलन आयोजना गरी ल्यामले विधेयक फिर्ता लिएको र यो निर्णयमा चीन सरकारको पनि समर्थन रहेको दाबी गरेकी छन् ।
पत्रकार सम्मेलनमा उनले भनिन्, “चिनियाँ सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ताको कुरा बुझेको छ, यो निर्णयको सम्मान र समर्थन गर्छ ।”
चीन सरकारले हङकङमा कडा नीति लागू गरेर स्वतन्त्रता हरण गर्न लागेको भन्दै हङकङमा तीन महिनादेखि विरोध प्रदर्शनहरु भइरहेका थिए ।
यसअघि बुधबार पनि अडियो सम्बोधन जारी गर्दै ल्यामले विधेयक फिर्ता लिइने घोषणा गरेकी थिइन् ।
यद्यपि, ल्यामको राजीनामा माग गरिरहेका आन्दोलनकारीले यो निर्णय निकै ढिलो गरी आएको भन्दै अब पूर्ण लोकतान्त्रिक अधिकारको सुनिश्चितता, आन्दोलनका क्रममा भएको प्रहरी दमनको छानविन र ल्यामको राजीनामालाई मुख्य मुद्दा बनाएका छन् ।
ल्यामले भने विधेयक दर्ता गराउने बेलादेखि फिर्ता लिने निर्णय गर्दासम्म चीन सरकारले समर्थन गरेको बताएकी छन् । उनले विधेयक फिर्ताको निर्णयसँगै धेरै असन्तुष्टिहरुको सम्बोधन भएको र आन्दोलनकारीसँग सौहार्दपूर्ण छलफलको बाटो खुलेको बताएकी छन् ।
सन् १९९७ देखि चीन अन्तर्ग रहेको हङकङमा ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले शासन गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४