सुर्खेत- गौहत्या प्रकरणबारे छानबिन सुरु भएसँगै घटना मिलाउन नक्कली पत्र तयार पारिएको छ ।
जिल्ला समन्वय समिति, दैलेखले घटनाको साता दिनपछि नेपालगन्ज उपमहानगरबाट भदौ ८ गते नै गाई मगाएको पत्र सार्वजनिक गरेसँगै यसको खुलासा भएको हो ।
सातादिनसम्म घटनाबारे मौन रहेको जिल्ला समन्वय समिति, दैलेखले बुधबार पत्र सार्वजनिक गरेसँगै स्थानीयले पत्रको बैधताबारे आशंका गरेका छन् । उनीहरूले घटना मिलाउन रातारात नक्कली पत्र तयार पारिएको आरोपसमेत लगाएका छन् ।
पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहले हस्ताक्षर गरेका छन् ।
पत्रमा दैलेखमा रहेको पञ्चकोशी श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायत धार्मिक स्थलमा पाल्न र नारायण नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक गाईपालन गर्न गाई मगाइएको उल्लेख छ ।
तर, श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने घटनाको भोलिपल्ट अर्थात् भदौ १४ गते नै गाई नमगाएको स्पष्ट पारेको थियो ।
यस्तै, नारायण नगरपालिकाकाले प्रेस विज्ञप्ति जारी गरी गाई नमगाएको जनाएकाे छ ।
व्यक्तिगत स्वार्थका लागि जिसस, दैलेखका पदाधिकारीले रातारात नक्कली पत्र तयार गरेको स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिको आरोप छ ।
जिसस, दैलेखले नेपालगन्ज उपमहानगरसँग गाई मगाएको खुलासा गरेपछि सदस्य तथा कर्मचारी आश्चर्यमा परेका छन् । निमित्त जिल्ला समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे आफूलाई जानकारी नभएको बताए ।
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई जोगाउन नक्कली पत्र तयार पारिएको स्थानीयको आशंका छ ।
जिसस दैलेखका प्रमुख थापा र नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल नाताले ज्वाइँ–जेठान पर्छन् । प्याकुरेल दैलेखका स्थानीय बासिन्दासमेत हुन् । साविक जिविस हुँदा प्याकुरेल दैलेखमा स्थानीय विकास अधिकारी थिए ।
घटनासँग सम्बन्धित तीन वटा निकायको पत्रको मिति एकैदिन भएकाले पनि घटना नियोजित हो भन्ने स्थानीयको आशंका छ ।
घटनाबारे जिसस दैलेख, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले भदौ ८ गते पत्र काटेका थिए । उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ ।
नेपालगंज उपमहानगरले ८ वटा ट्रकमा पठाएका २९१ गाई–गोरुमध्ये ३६ वटा बिहीबार राति सुर्खेतमा मरेको अवस्थामा भेटिएका थिए ।
घटनाबारे गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक नेतृत्वको टोलीले सुर्खेतमा छानबिन थालेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४