बिहीबार, वैशाख १३, २०८१

अब ई-पासपोर्ट, अरुको नामको सिम चलाउन रोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् । 

कान्तिपुर दैनिकले परराष्ट्र मन्त्रालयले आगामी असारभित्रै बिद्युतिय राहदानी अर्था इ पासपोर्ट बितरण गर्ने तयारी गरेको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै अफगानिस्तान मामिला कसले हेर्छ शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको  छ।

त्यस्तै अबबाट अरुको नाममा भएको सिमकार्ड प्रयोग गर्न नपाईने व्यवस्था दुरसञ्चार प्राधिकरणले गर्न लागेको विषयलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने सरकारलाई सञ्चिन कांग्रेसले चेतावनी दिएको विषयलाई मुख्य समाचार बनाएको छ।

यस्तै विप्लवको चन्दा आतंक र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी स्वरुप चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। 

नागरिक दैनिकले अझै दुई महिना डेंगीको संक्रमणको जोखिम कायमै रहने विषयलाई मुख्य समाचार बनाएको छ।

त्यस्तै बालुवाटारको सरकारी जग्गा हडपेको विषयमा बयानका लागि थप ५८ जना बोलाइएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 

नयाँ पत्रिकाले भने एमबिबिएसमा ७५ प्रतिशत छात्रवृति कानुनले दियो, सरकारले दिएन शीर्षकमा मुख्य समाचार छापेको छ ।

सरकारमाथि कांग्रेसले लगाएका १७ आरोप र प्रधानमन्त्री उपचार सकेर शुक्रबार स्वदेश फर्किन लागेको विषयलाई पनि उसले महत्वका साथ छापेको छ । 

अब ई–पासपोर्ट 

आजको कान्तिपुरमा प्रकाशित समाचारअनुसार परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाइका लागि प्रक्रिया अघि बढाएको छ । 

मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । 

एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ । 

राहदानी महाशाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, फोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन् ।

‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्ति पहिचानमा झुक्किन सक्ने सम्भावना रहन्छ,’ अर्यालले भने, ‘ई–पासपोर्टको चिप्समा रहेको फोटोमार्फत मुहार पहिचान प्रविधि (फेसियल रिकोग्निसन टेक्नोलोजी) बाट विश्वसनीय तरिकाले व्यक्ति पहिचान गर्न सकिन्छ ।’

‘बायोमेट्रिक’ राहदानीसमेत भनिने ई–पासपोर्ट अमेरिका, बेलायतसहित विश्वका करिब एक सय मुलुकमा प्रयोगमा आइसकेको छ । दक्षिण एसियामा भने भारत, बंगलादेशपछि नेपालले प्रक्रिया अघि बढाएको हो ।

नेपालमा ०६७ पुसबाट सुरु भएको एमआरपी पद्धतिमा अहिलेसम्म झन्डै ६० लाख पासपोर्ट वितरण भइसकेको छ ।

सिमकार्ड आफ्नो मात्रै

आजको कान्तिपुरमा प्रकाशित समाचारअनुसार अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ ।

जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाइएको बताए ।

‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरूका नामको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले १ करोड ६६ लाख सिमकार्ड जारी गरेको छ । यीमध्ये करिब ७० प्रतिशत सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा रहेको प्राधिकरणको अनुमान छ ।

थप दुई महिना डेंगी संक्रमणको जोखिम

आजको नागरिकमा प्रकाशित समाचारअनुसार राजधानीका विभिन्न अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप बढेको छ। 

बिरामीले घण्टाैं कुरेपछि मात्र उपचारको पालो पाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ज्वरो क्लिनिकमा बुधबार बिरामीको चाप देखिन्थ्यो। त्यहाँ पुगेका धेरैजसोमा डेंगी ज्वरोको लक्षण भएको अस्पतालले जनाएको छ।

अन्य दिनको तुलनामा बुधबार झन् धेरै बिरामी आएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डले जानकारी दिए। उनका अनुसार डेंगीको निःशुल्क उपचार हुने भएकाले ज्वरो आएका सबै बिरामीले यही अस्पताल छानेका हुन्।

डेंगी संक्रमणको जोखिम थप दुई महिना रहेकाले सबैलाई सतर्क हुन चिकित्सकले आग्रह गरेका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोला डेंगी सार्ने लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे तथा त्यसको अण्डा नष्ट गर्ने अभियानमा जुट्न सुझाव दिन्छन्। उनका अनुसार अझै दुई महिना डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम हुने भएकाले जोखिम छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी

आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। 

अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे अहिल्यै केही बताउन नसकिने बताए। उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमै वाङलाई नेपाल भ्रमणको निम्ता दिएका हौं। बीचमा कुराकानी पनि भएको छ। भ्रमण निश्चित भएपछि दुवै मुलुकले एकैपटक जानकारी दिने प्रचलन छ।’

परराष्ट्र मन्त्रालय उच्च स्रोतले भने विदेशमन्त्री वाङ आगामी आइतबार काठमाडौं आउने बतायो। स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यसअघि पनि पटकपटक नेपाल भ्रमण गरेका चिनियाँ राजनीतिज्ञ हुन्। उनी सोमबार फर्कने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।