सुर्खेत - सुर्खेतमा भएको सामूहिक गौहत्याको विषयमा गृह मन्त्रालयको छानविन टोलीले अनुसन्धान थालेको छ। मन्त्रालयले उप–सचिव सागरमणि पाठकको संयोजकत्वमा गठिन छानविन समिति स्थलगत अनुसन्धानका लागि सुर्खेत आएको छ। अनुसन्धान टोलीले घटनास्थल सुर्खेतको कटकुवाको स्थलगत अध्ययन गरी आज नै गाई लैजाने भनिएको दैलेखको शिरस्थानसम्म पुग्ने जनाइएको छ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले नेपाल बार एशोसियशनका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको छाननिव समितिले पनि घटनाको स्थलगत अनुगमन गरेको छ। दुवै समितिलाई १५ दिनको म्याद दिइएको छ। १५ दिनपछि दुवै समितिले प्रतिवेदन बुझाउने छन्।
गौहत्याको विषयमा छानविन गर्न प्रदेश प्रहरीले प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा गठित समितिले पनि अनुसन्धान थालेको छ। तीन सदस्यीय समितिमा सई शंकर श्रेष्ठ, असई प्रेम शर्मा रहेका छन्। गठित समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य बाहिर ल्याउने जनाएको छ।
उता घटनाको छानविन गर्न विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले पनि अर्को समिति गठन गरेको छ। गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरिएको हो। समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा. मीठाराम विश्वकर्मा, दिनेशकुमार सिंजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य छन्।
अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कने गरी अख्तियारी दिइएको छ। सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा थप अर्को समिति पनि गठन गरिएको छ। समितिमा १००८ स्वामी भागवताचार्य, राष्ट्रिय धर्मसभाका महासचिव पुष्पराज पुरुष, महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष प्रवीण घिमिरे, महासचिव गणेशप्रसाद न्यौपाने, सचिव ज्योत्स्ना साउद र सहकोषाध्यक्ष विदुरप्रसाद भण्डारी रहेका छन्। महासंघले सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार एवं पूर्व सभामुख तारानाथ रानाभाटको उपस्थितिमा बसेको बैठकले दुवै समिति गठन गरेको हो।
गत बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाको कान्जिहाउसबाट दैलखेको श्रीस्थान लैजाने भन्दै सुर्खेत ल्याइएका ३६ वटा गाइगोरु विभिन्न ठाउँमा मृत अवस्थामा भेटिएका थिए। सुर्खेत ल्याइएका २ सय ९१ गाइगोरुमध्ये २ सय २१ गाइगोरु पुनः नेपालगञ्ज फिर्ता गरिएका छन्। घटनामा संलग्न रहेको आरोपमा आठ जना चालक र सहचाल पक्राउ परेका छन्। ट्रकका चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालकहरु सरोज विश्वकर्मा, कमलप्रसाद नेपाल र अमृत चौधरीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ। गत बिहीबार नै गाई ल्याउन प्रयोग गरिएका ना ५ ख ६६७४, ना ६ ख ४९४९, ना ६ ख ९१७७, ना ६ ख ९९०५ र ना ६ ख १०१५ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका दोषीहरुले ३ वर्षकैद र ५० हजार जरीवाना भुक्तान गर्नुपर्ने कानूनी व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४