सुर्खेत- अदालतले पक्राउ आदेश दिएका कर्णाली प्रदेश सरकारका निलम्वित मन्त्री खड्गबहादुर खत्री बुधबार (आज) अदालतमा हाजिर भएका छन् ।
उच्च अदालत पाटनले खत्रीलाई गएको साउन २७ गते तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेको थियो । अदालतले आदेश दिएको २५ दिनपछि आजमात्रै खत्री अदालतमा हाजिर भएका हुन ।
खत्री आज उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन् । खत्रीको आजै अदालतले बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ ।
बैंकिङ् कसुरका दोषी अभियुक्त खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदमुक्त गरिसकेका छन् ।
कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको उनीमाथि अभियोग छ।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए ।
उनी निलम्बनमा परेपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री शाहीले नै समाहलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४