काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत हेटौडा पुगेका छन्।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत चितवनमा मुद्दा चलाइएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
लामिछाने र कँडेलले पाटन उच्च अदालतको हेटौंडा इजलासमा आफूहरुलाई धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरेका छन् ।
लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।
पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले क्रमशस् पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्कीलाई भने सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४