काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले किन झस्किए नेताहरु शीर्षकमा मुख्य समाचार छापेको छ भने प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ।
कान्तिपुर दैनिकले २५ वर्षअघि विभिन्न ब्यक्तिको अतिक्रमणमा परेको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले नखोजेको विषयलाई मुख्य समाचार बनाएको छ ।
गर्दै नगरेको अपराधको दोषी बनाएर कपिलवस्तु वाणगंगा नगरपालिकाका डिल्लीराम थारुलाई भारतको अमृतसरस्थित केन्द्रिय जेलमा हालिएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ।
आजको नागरिक दैनिकले सुदुरपश्चिम प्रदेशमा डोजर विकासले निम्त्याएको विनाशलाई मुख्य समाचार बनाएको छ। यस्तै उसले बालुवाटारको सरकारी जग्गा फिर्ता ल्याउने प्रस्ताव अझै मन्त्रिपरिषद्मा नपुगेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
नयाँ पत्रिकाले भने सर्लाहीका श्याम परदेशीले दश गुणा बढि असुल्ने गरि गरिबहरुलाई दिएको ऋण र त्यसको साक्षीका रुपमा नेकपाका केन्द्रीय सदस्यहरु जमानी बसेको विषयलाई मुख्य समाचार बनाएको छ । परदेशीको ठगी धन्दामा नेकपाका नेता अच्युतम काफ्ले र रेवती पन्त साक्षी बसेको पाइएको छ ।
त्यस्तै नयाँ पत्रिकाले नेपालमा फैलिदै गएको चिनियाको अपराध जालोलाई प्राथमिकताका साथ छापेको छ । उसले सुनदेखि मान्छेसम्म तस्करी, ह्याकिङदेखि अवैध अस्पतालसम्म सञ्चालन गरेको शीर्षकमा खबर लेखेको छ ।
किन झस्किए नेताहरू ?
प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ गते संसदमा र भदौ ३ गते सर्वदलिय बैठकमा दिएको अभिव्यक्ति र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १९ गते रामेछापमा आयोजित कार्यक्रममा दिएको अभिब्यक्तिले शीर्ष नेताहरु पूर्वराजासँग झस्किन थालेको प्रस्ट हुन्छ ।
दुबै नेताले व्यवस्था नै उल्टाउने गरि खेल भएको र पूर्वराजाले सक्रियता बढाएको विषयमा कडा टिप्पणी गरेका थिए ।
अन्नपूर्णले नेकपाका नेताहरु पूर्वराजासँग झस्किनुको तीन कारण उल्लेख गरेको छ । पहिलो पूर्वराजाको सक्रियता दोस्रो अन्तर्राष्ट्रिय शक्ति केन्द्रका गतिविधि तेस्रो सरकारप्रतिको असन्तुष्टि ।
पूर्वराजाको सक्रियता
पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको छ। उनी यतिबेला बैंककमा छन्। उनको त्यहाँ बसाइलाई लिएर अनेक शंका गर्न थालिएको छ।
राज्य व्यवस्थाविरुद्ध हतियार उठाउन खोजेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेताहरूसँगको हिमचिम, राजाको पछिल्ला अभिव्यक्ति र उनले नागरिक स्तरमा गर्न थालेको भेटघाटले पनि दलहरूलाई झस्काएको छ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रका गतिविधि
दक्षिणी छिमेकी मुलुक भारतमा दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीको उदय भयो। त्यसपछि उनको नेतृत्वको सरकारले कश्मीरलगायत अन्य क्षेत्रमा चालेका ‘स्टेप’ का कारण पनि नेपालको सत्तारूढ दल सशंकित देखिएको छ।
नेपालको संविधानमा भारतले देखाइरहेको असन्तुष्टि, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको पार्टी एकता, त्यससँगै मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) सम्मको एकताका लागि भइरहेको प्रयासले पनि नेकपाले कतै भारतले ‘दक्षिणपन्थी गठबन्धन’ निर्माणमा भूमिका खेलिरहेका त छैनन् भन्ने आशंकामा नेकपा देखिन्छ।
सरकारप्रतिको असन्तुष्टि
झन्डै दुई तिहाइ मत ल्याउँदा पनि सत्तारूढ दलदेखि अन्य राजनीतिक शक्तिले जनअपेक्षाअनुसार काम गर्न सकेनन्। उनीहरू चुकेका छन्। जसका कारण जनतामा निरासा छाएको छ।
गुठी विधेयकदेखि रवि लामिछाने प्रकरणसम्म आउँदा सडकबाट जसरी असन्तुष्टि प्रकट भयो। यसभित्र दरबारियालगायत शक्ति केन्द्रहरुको पनि सहभागिताले पनि सत्तारूढ दललाई झस्काएको छ।
२५ वर्षअघिको प्रतिवेदन : खोजिएन १८०० रोपनी
कान्तिपुरमा प्रकाशित समाचारअनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले खोजेको छैन ।
सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो बढेपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वभूमिसुधार सचिव रामबहादुर रावलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए ।
आयोगले दुई वर्ष लगाएर १३ सय पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो । जसमा काठमाडौं उपत्यकामा मात्र विभिन्न ओहदामा बसेका व्यक्तिले नदी, पोखरी, ढुंगेधारा, मन्दिर, खुलाचौर, सामाजिक संघसंस्थाको जग्गा, कुलो, चिहान, विभिन्न नदीको उकास भएको जग्गा, सरकारी वनलगायतको गरी करिब १८ सय रोपनी जग्गा अतिक्रमण भएको उल्लेख छ ।
प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त प्रतिवेदन थन्क्याइएको छ । उक्त प्रतिवेदन अध्ययन गर्नसमेत पाइँदैन ।
नेपालमा फैलँदै चिनियाँको अपराध जालो : सुनदेखि मान्छेसम्म तस्करी, ह्याकिङदेखि अवैध अस्पतालसम्म सञ्चालन
नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् ।
पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् । पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ ।
नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ । यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ ।
विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन् ।
धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन् । त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४