काठमाडौं- शनिवार दिँउसो ११ बजेको थियो। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) अन्तर्गतका ४ वटा बैंकका एटिएम ह्याक भए। ५ घण्टामा झण्डै तीन करोड रुपैँया अनधिकृत रुपमा निकालिएको बारे प्राय बैंकहरु बेखबर थिए।
नबिल बैंकले अस्वभाविक रुपमा एटिएमबाट पैसा निकालिएको बारे चनाखो बन्यो र निक्षेपकर्ताको ठूलो रकम चोरी हुनबाट जोगियो।
बिहान ११ बजेको थियो। दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट एकजना मानिस पैसा निकाल्ने र बाहिर जाने गर्न थाले। ती थिए चिनियाँ नागरिक झु लिआन।
अस्वभाविक रुपमा बढी पैसा निकालेको ‘नोटिफिकेसन’ नबिल बैंक पुगिसकेको थियो। बैंकले तत्कालै प्रहरीलाइ खबर गर्यो। महानगरीय प्रहरी परिसर काठमाडौंले मातहतका प्रहरीलाई परिचालित गर्यो। प्रहरी दरबारमार्ग पुग्दा झु चौथो पटक पैसा निकालेर भाग्ने तयारी गर्दै थिए ।
प्रहरीले झु लिआनले एटिएम ह्याक गरेर पैसा चोरी गरेको आशंका गरिहाल्यो। अन्य अभियुक्तको खोजी तीब्र पार्यो। नक्सालस्थित माया मनोर होटलबाट थप तीनजना चिनियाँ नागरिक पक्राउ परे।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार चिनियाँ नागरिकहरु चेन विन विन, झु लिआन, क्यु युन किन र लिउ जेली बैंकका एटिएम ह्याक गरेर पैसा निकाल्ने उद्देश्यले गत शुक्रबार त्रिभुवन विमानस्थल हुँदै काठमाडौ ओर्लेका थिए।
एटिएम ह्याक गरी पैसा निकाल्ने र सोमबार फर्किने योजनामा रहेका उनीहरु बेलैमा सूचना पाएपछि पक्राउ परे। थप ३ जना फरार रहेको प्रहरी स्रोतले जनाएको छ उनीहरुको खोजी कार्य तीब्र पारिएको छ।
मालवेयर अट्याक नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका चिनियाँ नागरिकले शुक्रबार राती नेप्सको डाटा ह्याक गरेका हुन्। डाटा ह्याकपछि शनिबार बिहान उनीहरुले काठमाडौंका बढी कारोबार हुने एटिएम बुथबाट पैसा निकाल्न थालेका थिए।
एटिएम मेशिनमा मालवेयर नामक कम्प्युटर भाइरस छिराएर पैसा निकाल्न सुरु गरेको राष्ट्र बैकले जनाएको छ।
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार नेपाल र भारतमा एकै साथ तीन कारोड बढी रकम निकालिएको छ।
नेपाल बैंकर्स संघले व्यक्तिको नामको रकम ननिकालिएको भन्दै ग्रहाकलाई ढुक्क हुन आग्रह गरेको छ। अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, ‘निकालिएको रकम बैंकले नै बेहोर्छ ग्राहकलाई स्पष्ट हुन आग्रह गर्दछौँ।’
शनिवारको दिन बैंक तथा वित्तीय संस्थामा कारोबार नहुने र यो समयमा ह्याक गरि लिएको रकम लिएर भाग्ने उद्देश्यले चिनियाँ नागरिक नेपाल आएको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बैंकको भिषा कार्ड प्रयोग गरेर भारतबाट समेत झन्डै एक करोड रकम निकालिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकको साथबाट नेपाली रुपैँया एक कारोड २६ लाख २९ हजार ४५, अमेरीकी डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा ११ सय ९१, युरो दुई सय ५०, कम्बोडिन करेन्सी ५ हजार र हङकङ डलर ८० नगद बरामद भएको छ।
उनीहरुको साथबाट नक्कली भिषा कार्ड १३२ थान, १७ थान विभिन्न बैंकबाट जारी गरिएका एटिएम, एटिएम कार्ड छाप्ने मेसिन एक थान, मोबाइल ६ थान, ल्यापटप २ थान तथा डाटा कार्ड एक थान बरामद भएको छ।
यस विषयमा थप अनुसन्धान भैरहेको छ। पक्राउ परेकामाथि बैंक ठगी तथा किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४