काठमाडौं - जलबाष्पयुक्त हावा नेपाल प्रवेशको कारणले पूर्वी,मध्य तथा पश्चिमि क्षेत्रमा धेरैजसो स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। काठमाडौं उपत्यकामासमेत रातिदेखि नै ठूलो वर्षा भइरहेको छ।
मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको महाशाखाले जानकारी दिएको छ। मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसमविद् मीनकुमार अर्यालले बताए।
उनका अनुसार वर्षा केही समय अझै जारी नै रहनेछ। पानी पर्ने र रोकीने क्रम दिउँसो भरी जारी रहने उनले बताए।
देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित भारी वर्षाकोसमेत संभावना रहेकोले नदीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तै पहाडी क्षेत्रमा पहिरो जानसक्ने सम्भावना रहेको छ।
यस्तै रातिदेखि ईलाम,झापा,मोरङ,सुनसरी,सप्तरी,दोलखा,सिन्धुपाल्चोक,नुवाकोट,रसुवा,गोरखा, लमजुङ,चितवनमा मध्यम बर्षा भएकोले केही साना नदीमा आकस्मिक बहावको संभावना रहेको साथै प्रदेश १,२,३ र ४ को साना नदी तटिय क्षेत्रमा सतर्क रहन र झापाको विरिङ नदी तटिय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थान, चितवनको कालीखोला र आसपासमा मध्यम देखि भारी बर्षा मापन भएको र बाह्रविसे लगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला रआसपास पहिरो जान सक्ने भन्दै यात्रामा सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
भोली (आइतबार) पनि देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४