काठमाडौं- भारतमा जारी पाँचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आज (बिहीबार) नेपाली टोलीले लिगको अन्तिम खेल खेल्दै छ । अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दै छ।
कल्याणी रंगशालामा खेल नेपाली समय अनुसार १२:१५ बजे सुरु हुने छ । फाइनल पुग्ने लक्ष्य बनाएको नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ ।
तुलनात्मक रुपमा कमजोर रहेको टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ । यता भुटान भने प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।
आजै हुने अर्को खेलमा बलियो टोली भारतसँग बंगलादेशले खेल्दै छ । तेस्रो स्थानमा रहेको बंगलादेशले भारतसँगै खेल्ने भएकाले पनि नेपालले भुटानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्ने छ।
नेपाल र बंगलादेशको समान तीन खेलबाट समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपालले बंगलादेशलाई पछि पारेको हो।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको नेपाललले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो । त्यस्तै तेस्रो खेलमा साविकको विजेता बंगलादेशलाई ४-१ गोलले पराजित गर्दै नेपालले आफ्नो फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४