काठमाडौं – सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) को एकीकरणले तीव्रता लिएको छ। एकीकरणका सर्तहरुमाथि छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक भइरहेको छ।
बैठकमा राजपासँगको पार्टी एकीकरण तथा सांगठनिक संरचनाबारे छलफल भइरहेको सहमहासचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्।
एकीकरणका लागि पदाधिकारी संख्या दुबै पार्टीको बराबर हुनु पर्ने भएपछि समाजवादीले आफ्ना पदाधिकारीको संख्या पनि राजपा बराबर (४० जना) बनाउने तयारी गरेको छ।
विवाद
एकीकरणपछि बन्ने अध्यक्ष मण्डलमा भूमिका नपाउने निश्चित जस्तै भएपछि राजपा अध्यक्ष मण्डलका दुई सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र अनिल झाले सार्वजनिक रुपमै एकीकरणका विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। तर, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरत्सिंह भण्डारीको भने दशैंअघि नै समाजवादीसँगको एकीकरणलाई टुंगोमा पुर्याउने पक्षमा छन्।
गएको शुक्रबार मात्रै पनि समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको निवासमा दुबै दलका नेताबीच औपचारिक छलफल भएको थियो । त्यसपछि पनि निरन्तर अनौपचारिक छलफल भइरहेको छ।
उता, एकीकरण विषयमा दुई जना नेताहरुले असन्तुष्टि देखाएपछि राजपा अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन। अध्यक्ष मण्डलको बैठक बस्न नसक्दा संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका छन्।
“अध्यक्ष मण्डलको बैठक बस्न नसकेपछि त्यसभन्दा ठूलो निकाय राजनीतिक समितिको बैठक बस्दैछ,” संयोजक यादवले भने । तर, पार्टीको प्रावधान अनुसार अध्यक्ष मण्डलको सहमतिबिना समितिको बैठक बस्न नसक्ने राजपा महासचिव केशव झा बताउँछन्।
अध्यक्ष मण्डलमा छलफल नगरी बोलाइएको बैठक बस्नै नसक्ने झाको दाबी छ । तर, संयोजक यादव भने बैठक बस्ने र विभिन्न एजेण्डामा छलफल हुने बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४