काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरका लागि आफूहरू कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतलाई यस्तो चेतावनी दिएका हुन् ।
भारतले कश्मिरमा धारा ३७० हटाएसँगै पाकिस्तानले यसमा असहमति जनाउँदै आइरहेको छ ।
कश्मिरमा धारा ३७० हटाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ऐतिहासिक भुल’ गरेको प्रधानमन्त्री इमरान खानले बताए । उनले कश्मिर मामलामा ठूला देशहरूले आफ्नो आर्थिक हितका लागि पाकिस्तानलाई समर्थन नगरेको आरोप लगाए ।
ठूला देशले समर्थन नगरे पनि यसबारे संयुक्त राष्ट्र महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउने उनले बताए ।
तर, यदि अन्तर्राष्ट्रिय समुदायले आफ्नो कुरा नसुने परमाणु युद्ध पनि हुन सक्ने उनले चेतावनी दिए ।
‘भारत र पाकिस्तानसँग परमाणु हतियार छन् । यदि यी दुई देशबीच परमाणु युद्ध भए यस क्षेत्रमा मात्र होइन, विश्वभर यसको परिणाम भोग्नुपर्छ । त्यसकारण यो अब अन्तर्राष्ट्रिय समुदायमा निर्भर छ,’ उनले भने ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४